म्याग्दी, २ माघ । म्याग्दीको बाबियाचौर स्वास्थ्य चौकीलाई रणवाङका बासिन्दाले रु सोह्र लाखभन्दा बढी मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।
बाबियाचौर–८ रणवाङका ललितबहादुर मल्ल, लक्षिनबहादुर मल्ल, होमबहादुर सेन र हिरा सुवेदीले चार रोपनी १२ आना जग्गा सहयोग गरेका हुन् । उनीहरुले प्रतिरोपनी रु चार लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएको स्वास्थ्य चौकीका अहेब बालकृष्ण शर्माले जानकारी दिए ।
स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको दाताहरुले बताएका छन् । सो स्वास्थ्य चौकी हाल सहस्रधारास्थित मालिका युवा क्लबको भवनको दुईवटा कोठाबाट सञ्चालन हुँदै आएको छ । हाल चौकी सञ्चालनमा रहेको भवन निर्माणका लागि विसं २०५४ मा नन्दप्रसाद गौचनले जग्गा उपलब्ध गराएका थिए ।
हाल भवन रहेको जग्गा स्वास्थ्य चौकीको भवन निर्माणका लागि अपुग भएपछि जग्गाको खोजी गरिएको थियो । स्वास्थ्य चौकीको भवन निर्माणका लागि कम्तीमा चार रोपनी जग्गा आवश्यक पर्ने मापदण्ड छ । जग्गा प्राप्ति भएपछि भवन निर्माणका लागि माथिल्लो निकायमा माग गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिले जनाएको छ । रासस