काठमाडौं । प्रसिद्ध हास्यव्यङ्ग्यकार स्वर्गिय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार काठमाडौं निवासी चट्याङ मास्टर (कृष्णमुरारी गौतम) तथा भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गरिएको छ । शुक्रवार भैरव पुरस्कार गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कारहरु वितरण गरेको हो ।
वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माले स्रष्टाहरु गौतम र भट्टराईलाई पुरस्कार वितरण गरे । प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशी नगद ५० हजार रुपैया तथा भैरव प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ । गौतम तथा भट्टराईलाई वर्ष २०७१–७२ को लागि उत्कृष्ट हास्यव्यङ्ग्यकारको रुपमा पुरस्कृत गरिएको गुठीले जनाएको छ ।
कार्यक्रममा साहित्यकारहरु रोचक घिमिरे विजय चालिसे, लक्ष्मण गाम्नागें, भरतकुमार भट्टराई, गोपाल बराल, वसन्त रिजाल लगायतले भैरव अर्याल नेपाली हास्यव्यङग्य क्षेत्रको विराट प्रतिभा भएको बताए ।
सोही कार्यक्रममा अर्यालकै स्मृतिमा आयोजना गरिएको काठमाडौं क्षेत्र नम्बर २–३ व्यापी माध्यामिक विद्यालय स्तरीय हास्यव्यङ्ग्य प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण गरियो । जस अनुसार पहिलो स्थान मोनास्टिक पब्लिक स्कुलकी छात्रा अविना थापाले हासिल गरेकी छिन् । द्धितीय स्थान जेभियर इन्टरनेशनलकी दृष्टि लम्सालले हात पारेकी छिन् भने आदर्श मावि भद्रवासकी प्रमिला फुयाँल तेस्रो भएकी छिन् । अरुणिामा माविका शौरभ फुयाँलले सात्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशी क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया रहेको छ ।
प्रकाशित मिति: १ माघ २०७३, शनिबार ०८:४४