भीमदत्तनगर, २९ पुस । कञ्चनपुरको दक्षिण सीमा क्षेत्रका बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा युनिट तथा पोस्ट स्थापना गर्न माग गरेका छन् ।
स्थानीय बेल्डाँडी र त्रिभुवनबस्ती पुगेका नेपाल प्रहरी र शसस्त्र प्रहरीका क्षेत्रीय प्रमुख समक्ष स्थानीयवासीले भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत भए पनि नेपाली पक्ष निकै कमजोर रहेको भन्दै सीमा नाकामा शसस्त्र प्रहरी पोस्ट स्थापना गर्नुपर्ने माग गरेका हुन् ।
खुला सीमा नाका भएका कारण विभिन्न अपराध, मानव बेचबिखन, भारतीय बेपाहा प्रवृति सहनुपरेको भन्दै पुर्नवास नगरपालिकाका शङ्कर बोगटीले खुला सिमानाका कारण स्थानीय बजारमा तस्करीसमेत मौलाएको बताए ।
अर्का स्थानीयबासी रमेश अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको र सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएको छ भने ।
‘सीमा पिल्लर नेपालतर्फ सार्नेदेखि भारतीय एसएसबिले समय समयमा नेपालीलाई दुःख दिने गरेको छ ।’ अर्यालले भने –“सिमा क्षेत्रको सुरक्षा स्थानीयवासीले गरेका छन् ।’ एक सय ३१ किलोमिटर क्षेत्र भारतसित सीमा जोडिएको भए पनि भारतले हरेक पाँच किलोमिटरको फरकका ३१ वटा एसएसबी पोस्ट राखेर सीमामा निगरानी बढाएको छ । तर नेपाली पक्षबाट भने सशस्त्र प्रहरीका दुईवटा मात्रै सुरक्षा पोस्ट छन् ।
पुर्नवासका दानबहादुर सुनारले १०४देखि २०० नम्बर सीमा स्तम्भमा समस्या रहेको र भारतीय पक्षले केही स्थानीवासीको जग्गासमेत कब्जा गरेको जानकारी दीए ।
‘सीमा पिल्लर ढलेको प्रति हाम्रो प्रशासन नै बेखबर छ ।’ “तत्काल अतिक्रमण रोक्न पहल होस् ।” सीमा विवाद देखिएका क्षेत्रमा भारतीय पक्षसित समन्वय गरेर समाधान खोज्न सीमाक्षेत्रका बासिन्दाको माग छ ।
सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनीका बाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले त्रिभुवनबस्ती र बेल्डाँडीमा सशस्त्र पोस्ट स्थापना गर्न पहल भइरहेको उल्लेख गरे ।
प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार १४:२४