पाल्पा, २८ पुस । पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० स्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यका लागि मासिक पेन्सनको वितरण गर्न थालेको छ । सहकारीले यसरी ज्येष्ठ सदस्यलाई पेन्सन वितरण गरेको जिल्लामै पहिलो हो ।
सहकारीले ७० वर्षदेखि माथिका वृद्धवद्धालाई मासिक पेन्सन वितरण गर्दै आएपछि ज्येष्ठ सेयर सदस्य खुसी छन् । रामपुर नगरपालिका–११ का नुरप्रसाद पोखरेलले गत १२ महिनाको ६ हजार र चालु आवमा पाँच महिनाको दुईहजार पाँचसय रुपैयाँ पेन्सन पाउनुभएपछि मन खुसीले गद्गद् भए ।
प्रतिमहिना पाँचसयका दरले चार महिनामा दुई हजारका दरले मङ्सिर, चैत र असारमा ज्येष्ठ सेयर सदस्यका लागि पेन्सन वितरण गर्दै आएकोमा यस आवमा प्रत्येक महिना नै ज्येष्ठ सदस्यलाई पाँचसय पेन्सन वितरण गर्न थालेको अध्यक्ष तीर्थप्रसाद पँगेनीले जानकारी दिए । उनका अनुसार सहकारी संस्था नाफा केन्द्रित मात्र होइनन्, सहकारी सदस्यप्रति सेवामुखी पनि हुन्छन् भन्ने यो नमुना हो ।
सहकारीले विसं २०७२ साउन महिनादेखि सञ्चालनमा ल्याएको ज्येष्ठ सेयर सदस्यका लागि मासिक पेन्सनको वितरणले ज्येष्ठ नागरिक खुसी छन् । गत आव २०७२-७३ मा ३३ जना ज्येष्ठ सेयर सदस्यलाई एक लाख ८२ हजार रुपैयाँ वितरण गरेको कोषाध्यक्ष तारानाथ ढकाल बताउछन् ।
चालु आवको ६ महिनाको अवधिमा ११ ज्येष्ठ सेयर सदस्यले मासिक रुपमा पेन्सन पाउने गरी थपिएका छन् । एकजना ज्येष्ठ सदस्यको मृत्यु भएको र हाल पेन्सन पाउनेको सङ्ख्या ४३ जना रहेको छ । सहकारीले सदस्य सुत्केरी हुँदा सुत्केरी खर्च दुई हजार, सदस्यको मृत्यु, सदस्यको श्रीमान र श्रीमतीको मृत्युमा राहत प्रदान गर्दै आएकोे सहकारीका सहव्यवस्थापक ईश्वरीप्रसाद भट्टराई बताउछन् ।
विसं २०५५ पुस महिनामा घाँस खेती गर्ने उद्देश्यका साथ २८ जना सदस्यद्वारा स्थापित यस सहकारीमा हाल आठहजार एकसय ६८ जना सेयर सदस्य आबद्ध छन् । यस सहकारी आर्थिक रुपमा समृद्धिका लागि सदस्यलाई ऋण प्रदान गर्दै अहिले सामाजिक रुपान्तरणका क्षेत्रमा समेत काम गर्न थालेको छ । सहकारीले पूर्वी पाल्पाको ग्रामीण भेगका बैंकको पहुँच नपुगेका क्षेत्रका बैंकले झैँ सहुलियत ब्याजदरमा समेत ऋण प्रवाह गरेको छ ।
सहकारी शिक्षा, विद्यालय मैत्री सहकारी शिक्षा, सहकारी तथा लघुवित्त अवलोकन भ्रमण, व्यावसायिक सीपमूलक तालिम, स्वास्थ्य शिविर, युवा तथा बाल मैत्री कार्यक्रम, युवा तथा बालमैत्री कार्यक्रम, गरिबसँग अन्धकारमुक्ति, सकारात्मक सोच, बालबचत अभियान, सहकारी एकीकरण कार्यक्रम सहकारीले आफ्नै लगानीमा सञ्चालन गर्दै आएको छ ।
सहकारीका सदस्यहरुलाई आर्थिकरुपमा सबल बनाउनका लागि युवा स्वरोजगार कर्जा, लघुवित्त, विप्रेषण, सोलर कर्जाले सदस्यहरु सुविधा उपभोग गर्न पाउँदा खुसी छन् ।
सहकारीले गत आवमा सेयर पुँजी रु तीन करोड ८२ लाख १४ हजार एक सय, बचततर्फ रु २६ करोड ८७ लाख ५० हजार दुई सय ३२, लगानीतर्फ रु ३७ करोड १२ लाख १४ हजार आठ सय ७४, संस्थाको आफ्नै कोषमा रु तीन करोड ५७ लाख २७ हजार नौ सय ३५ र रु एक करोड २४ लाख ३६ हजार चार शुद्ध नाफा रहेको सहव्यवस्थापक भट्टराई बताउछन् ।
यो सहकारीले रामपुर नगरपालिकासहित जिल्लाका १६ गाविसमा आफ्नो सेवा दिँदै आएको छ । रासस