राज रेग्मी
काठमाडौं । डिसेम्बर २४ को रातमा सरकारले हतारहतार एउटा निर्णय गर्यो । भोलिपल्ट अर्थात् डिसेम्बर २५ का लागि सार्वजनिक बिदाको । डिसेम्बर २५ पश्चिमाहरूले मनाउने क्रिसमस अर्थात् क्रिस्चियन धर्मावलम्बीले मनाउने पर्व हो । जसलाई हामी हाम्रो मौलिक कदापि मान्नै सक्दैनौं । क्रिसमस डे अर्थात् डिसेम्बर २५ नेपालीको मौलिक पर्व हुनै सक्दैन । बर्थडे अर्थात् जन्मदिनजस्तै यसलाई पनि आयातित पर्वका रूपमा लिन सकिन्छ । यद्यपि पछिल्ला वर्षहरूमा नेपालमा पनि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ । विशेषगरी सहरीया युवायुवती यो पर्वमा रमाइलोका नाममा विभिन्न गतिविधि गरी मनाउँछन् । वास्तवमा मानिस सधैं काममा हुन्छ । आफ्नो कर्ममै व्यस्त रहेको समयमा बेलाबेलामा यस्ता चाड आउनुलाई राम्रो मान्न सकिन्छ । सरकारले पनि सार्वजनिक बिदा दिएपछि आफूले सबै काम छाडेर रमाइलो अर्थात् सो दिन मनोरञ्जन, जमघट, घुमघामबाट मनाउन सकिन्छ ।
यसका लागि आयातित सही डिसेम्बर २५ मा पनि राज्यबाटै सार्वजनिक बिदा पाउनु क्रिसमस मनाउनेका लागि खुसी कै कुरा नमनाउनेका लागि पनि राम्रै । एक दिन भए पनि कार्यालय जानु नपर्ने, नियमित कार्य गर्नु नपर्ने । तर, यो मजदुर तथा गरिबवर्गलाई भने लागू नहुन सक्छ । वास्तवमा यो लेखनको क्रिस्चियन धर्मावलम्बीले मान्ने पर्वलाई सार्वजनिक बिदा दिनुहुँदैन भन्ने सोच कदापि होइन । सबैले आफ्नो पर्व हर्सोल्लासका साथ मान्नुपर्ने हुन्छ । सार्वजनिक बिदा पनि पाउनुपर्ने हुन्छ ।
यसैबीच राज्यले राज्य निर्माताका सूत्राधार पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ लाई सार्वजनिक बिदा दिन आवश्यक ठानेन । पृथ्वीनारायणलाई राज्य एकीकरणका नायक मान्ने तर उनको सम्झनामा एक दिन छुट्टीसमेत दिन अन्कनाउने अहिलेको राज्य संयन्त्र हेर्दा टिठलाग्दो देखिन्छ । हुन त तत्कालीन राप्रपा नेपाल अहिलेको एकीकृत राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा गतवर्ष एमाले अध्यक्ष केपी ओलीको मन्त्रिपरिषदमा शक्तिशाली उपप्रधान तथा परराष्ट्र मन्त्रालय ओगटेर बसेका थिए । त्यसबेला कथा (कमल थापा) शक्तिशाली हुनुका साथै राजतन्त्रको वकालत गर्न छाडेका थिएनन् । अझै पनि कथाले राजतन्त्रको वकालत गर्न छाडेका छैनन् । उनी राजतन्त्रका पक्षधर पनि मानिन्छन् । उनले आफैं शक्तिशाली हुँदा त पृथ्वी जयन्तीका दिनमा सार्वजनिक बिदा गराउन सकेनन् । सत्ता बाहिर रहेका बेला कसरी सार्वजनिक बिदाका लागि कुरा उठाउन सक्लान ।
वास्तवमा बिदाले मात्र पृथ्वीनारायणको सम्मान हुने होइन् । मौलिकता मेटन दिने कि जगेर्ना गर्ने यो सोचनीय विषय हो।
यस्तै अस्ति मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले ११औं चितवन महोत्वसमा पृथ्वीनारायणको गुणगान त गाए तर एउटा सार्वजनिक बिदा दिन उचित ठानेनन् । बरु डिसेम्बर २५ लाई सार्वजनिक बिदा घोषणा गर्न लगाए, शुभकामना वक्तव्य जारी गरे तर पृथ्वी जयन्तीका विषयमा मौन रहे । यस्तै माओवादीतर्फबाटै उपराष्ट्रपति भएका नन्दबहादुर पुनले पनि गत साता राजधानीमै आयोजित एक कार्यक्रममा पृथ्वीनारायणको राम्रै प्रशंसा गरे तर बिदा सम्बन्धमा चुइँक्क बोल्न सकेनन् । भनिदिने त हो बिदा हुनुपर्छ पुस २७ मा, पृथ्वीनारायण राष्ट्रनिर्माता हुन भनेर । जसले भनिदिए पनि त भयो, निवर्तमान प्रधानमन्त्री केपी ओली, भूपू प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल वा वर्तमान मन्त्री अर्जुननरसिंह केसी । सबैले भनिदिने कुरा न हुन्, भाषण त गर्ने हो भनेर पृथ्वीनारायणलाई नेपालीले सम्झनु आवश्यक छ भनेर । तर, उनलाई राज्यका तर्फबाट एक दिन बिदासमेत दिन नसक्नेले कसरी सम्मान गर्लान् भनेर । यो त मुखमा रामराम बगलीमा छुराजस्तो देखियो राजनीतिक दलका नेताहरूको क्रियाकलाप । वास्तवमा बिदाले मात्र पृथ्वीनारायणको सम्मान हुने होइन् । मौलिकता मेटन दिने कि जगेर्ना गर्ने यो सोचनीय विषय हो । यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री दाहाल, अधिकांश दल पृथ्वीजयन्तीमा बिदा दिन एकमत थिए । तर, मंगलबार अबेरसम्म सार्वजनिक बिदा दिने सरकारी निर्णय हुन सकेन ।
०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २७ पुसमा मनाइने पृथ्वी जयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटाएको हो । त्यसयताका वर्षमा कुनै पनि सरकारले बिदा दिएको छैन । तर, यसपटक क्रिसमस डे का दिन सार्वजनिक बिदा दिने दाहाल नेतृत्वको सरकारले बिदा दिन्छ कि भन्ने आशा त थियो तर यत्तिकै टालिदियो । क्रिसमस डे का दिन बिदा दिने सरकारले यसपटक पृथ्वी जयन्तीका दिन पनि बिदा दिने नैतिक दबाब थपिएको थियो । यसअघिका पृथ्वी जयन्तीमा सरकारले निरन्तर बिदा दिई सरकारी स्तरमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिन्थे । १० वर्षयता भने सरकारी क्षेत्रबाट औपचारिक कार्यक्रमको आयोजना नगरिए पनि निजी क्षेत्रबाट भने विभिन्न कार्यक्रमको आयोजना गर्दै पृथ्वीनारायणलाई सम्झिएको पाइन्छ ।
उसो त राष्ट्रनिर्माण अर्थात् एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका पृथ्वीनारायणका मुलुकका विभिन्न स्थानमा रहेका सालिकमाथि तोडफोड भए पनि केही पुनर्निर्माण गरियो, केही बनाइए, केही अझै भग्नावशेषकै रूपमा अलपत्र छन्। पृथ्वीनारायण इतिहास हुन्, नेपालीका धरोहर हुन् यिनलाई बिर्सनु पुर्खालाई बिर्सिए समान हुन जान्छ । भावी सन्ततिले पनि यिनका बारेमा जानकारी पाउनुपर्छ । यो उनीहरूको अधिकार पनि हो।
वास्तवमा बिदा दिएर वा नदिएरै मात्र पृथ्वीनारायणको सम्मान जतिने होइन । तर, अग्रजलाई सम्मान गर्न बिर्सिने हो भने पछिका सन्ततिले अहिलेकालाई किने सम्झने भन्ने प्रश्न नउठला भन्न सकिँदैन । तसर्थ पृथ्वी जयन्तीमा एक दिनको बिदा दिनलाई केको कञ्जुस्याइँ बुझ्नै गाह्रो । भारतका र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आए सार्वजनिक बिदा दिनुपर्ने निर्णय गराउने सरकार आफ्नै इतिहासको सम्झनामा एकदिनको बिदा दिनसमेत आनाकानी गर्छ । जनताको अपेक्षाअनुरूपको गतिविधिमा सरकारले मुन्टो बटारेको देख्दासमेत उदेक लागेर आउँछ ।
प्रकाशित मिति: २७ पुष २०७३, बुधबार ११:५५