झापा, २६ पुस । पूर्वी–दक्षिणी झापाका छ गाविस धान सुपरजोन बनेसँगै यहाँका किसान उत्साहित बनेका छन् । वर्षमा एक पटक मात्र धान खेती गर्ने किसान अहिले चैते धान लगाउन कम्मर कसेर लागेका छन् ।
नेपालकै सबैभन्दा होचो स्थानमा रहेको गाविस केचना–९ का किसान बसन्तकुमार गणेश ७ बिगाहा क्षेत्रफलमा धानखेती गर्दै आएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका बसन्तकुमार यस पटक एक बिगाहामा चैते धान लगाउने सोचमा छन् । पुर्नाभिटा कृषक समूहमा आबद्ध उनी धान सुपरजोन घोषणा भएसँगै आफूमा चैते धान लगाउने सोच आएको बताउछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाको बनियानीमा भएको कार्यक्रममा आफ्नो कृषक समूहले सामसुङ कम्पनीको मोबाइल र एक थान सिमकार्ड पाएपछि समूहका किसानमा हौसला थपिएको उनले बताए ।
“हाम्रो ठाउँमा पाँचवटा कृषक समूह पहिलेदेखि नै थिए” उनले भने, “परियोजना सुरु भएसँगै कृषक समूह गठन तीव्र बनेको छ ।” वसन्तकुमार मात्र होइन, केचना–९ का अर्का किसान सम्पतलाल गणेश पनि चैते धान रोप्ने सुरसारमा छन् । उनले तीन बिगाहामा हिउँदे धान लगाउँदै आएको बताए ।
पथरीया गाविस–९ की अगुवा महिला किसान दुर्गादेवी नेपाल पनि धान सुपरजोन कार्यक्रमले किसानमा ऊर्जा थपेको सुनाउछिन् । “यहाँका किसानले मल, बीउ, कृषि मजदुरको समस्या झेलिरहेका छन्” किसान अगुवा नेपालले भनिन्, “परियोजनाले किसानमा आशा पलाएको छ ।” उनले किसानलाई ८० प्रतिशतसम्म अनुदान दिए परियोजना अझ प्रभावकारी हुने बताइन् ।
सोही स्थानका किसान शेरबहादुर खत्री पनि धान सुपरजोन घोषणा भएसँगै कम हौसिएका छैनन् । उनले पनि यस पटक दुई बिगाहा क्षेत्रफलमा चैते धान लगाउने बताए । आफ्नो र अधिया गरेर उहाँ सात बिगाहामा धानखेती गर्दै आएका छन् । त्यस्तै, दुई बिगाहामा धान खेती गर्दै आएका पथरीया गाविसका किसान तेजमान बस्नेत परियोजनामा सहभागी हुने बताउछन् ।
बालुबाडीका किसान पनि धान सुपरजोन परियोजना सुरु भएसँगै धेरै उत्साही बनेको बालुबाडी गाविसका नायब प्राविधिक सहायक प्रेम पोखरेलले बताए ।
“पहिले एउटा वडामा एउटा कृषक समूह पनि पाउन गाह्रो थियो”, सरकारले लागू गरेको एक गाउँ एक प्राविधिक कार्यक्रमअन्तर्गत खटिनुभएका पोखरेल भन्छन्, “तर, अहिले एउटै गाउँमा ३÷४ वटासम्म समूह बन्न थालेको छ ।” उनले यहाँ किसानलाई खाद्यान्न बालीसम्बन्धी प्राविधिक सहयोग दिँदै आएका छन् ।
बनियानी गाविसका किसान जत्तुलाल गणेश पनि चैते धान लगाउन तम्तयार भएका छन् । यसअघि हिउँदे धान लगाउँदै आएका उनी किसानमुखी कार्यक्रम आउँदा खुसी लागेको सुनाउछन् । उनले तीन बिगाहा क्षेत्रफलमा चैते धान लगाउने तयारीमा रहेको सुनाए ।
यस क्षेत्रका किसानले चैते सिजनमा हुने हर्दीनाथ, डल्लेपुसा, चाइनापुसा लगायतका स्थानीय जातका धान लगाउँदै आएका छन् । यस क्षेत्रमा नेपाल कृषि अनुसन्धान केन्द्र तरहराबाट सिफारिस गरिएका चैते–२, चैते–४ र केन्द्रमा परीक्षण भइरहेको तेहरान र अन्य जातका धान लगाइने सुपरजोन कार्यान्वयन एकाइ बनियानीका प्रमुख मेघनाथ तिमल्सेनाले बताए । कम खनजोत र ब्याड नराखी सिधै धान रोप्ने प्रविधिको परीक्षणसमेत गरिने प्रमुख तिमल्सेनाले जानकारी दिए ।
झापाको पूर्वी–दक्षिणी ६ गाविस पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीमा यसै आर्थिक वर्षदेखि लागू भएको परियोजना समुदायमा आधारित छ ।
व्यावसायिक कृषिसम्बन्धी उक्त परियोजनाअन्तर्गत धानको ३.१५ उत्पादकत्व वृद्धि गरी ५.५ मेट्रिक टन प्रतिहेक्टर बनाउने लक्ष्यअनुरुप पहिलो वर्षका लागि सरकारबाट करिब रु पाँच करोड विनियोजन भएबाट अब परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । रासस