बाजुरा, २६ पुस । जिल्लामा जलवायु परिवर्तनले प्रभाव पारेमा खानेपानीका मुहानको संरक्षण र तीनको सही व्यवस्थापन गर्नका लागि जिल्लाका १५ गाविस छनोट गरिएका छन् ।
गाविसमा रहेका मुहानको पहुँचमा रहेका समुदायको समूह बनाई मुहानको आवश्यकता हेरी खानेपानीका पुराना संरचना मर्मत तथा आवश्यकता पहिचान गरी उक्त कार्यक्रम लागू भएको जिल्ला भूसंरक्षण कार्यालय बाजुराका कार्यालय प्रमुख खेमराज रेग्मीले बताए ।
उनले जिल्लाका १५ गाविस छनोट गरी यस वर्षका लागि सात गाविस समायोजना सुचारु हुने बताए । रेग्मीले जलवायु परिवर्तनले पानीका मुहानमा पु¥याएको क्षति, पानीका मुहान सुक्दै जाने गरेका समस्यालाई समाधान गर्नका लागि पर्वतीय जलाधारको जलवायु परिवर्तन समानुकूलन आयोजना लागू भएको रेग्मीको भनाइ रहेको छ ।
यस आर्थिक वर्षमा जिल्लाका जयवागेश्री, काँडा, डोगडी, गुदुखाती, ब्रह्मतोला, बाह्रविस र कुल्देवमाडौँ गाविसमा योजना छनोट भई आयोजना सुचारु हुने बताइएको छ । गाविसमा भएका मुहानको निर्माण तथा मर्मत कार्य उपभोक्ता समितिमार्फत गराइने भएको छ ।
सोमबार भएको जिल्लास्तरीय समन्वयात्मक बैठकले अन्य आठ गाविसलाई आगामी वर्षका लागि छनोट गरी सिफारिस गरेको छ, जसमध्ये बडिमालिका नगरपालिकाभित्रका साविकका जुगाडा, मार्तडी, बूढीगङ्गा गाविस र तोली, कैलाशमाडाँै, मानाकोट र दहकोट गाविस सिफारिस गरिएका छन् ।
यो आयोजना सन् २०१४ देखि सन् २०२० सम्म सञ्चालन हुने भएको छ । सातवटा गाविसमा सञ्चालन गरिने आयोजनाका लागि रु चार करोड खर्च गरिने भएको छ । रासस