काठमाडौं, २४ पुस । सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ । प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ ।
त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ । प्रदेश नम्बर ५ को बुटवलमा कलेज स्थापनाका लागि जग्गा व्यवस्थापनको कार्य भइरहेको छ ।
शिक्षा मन्त्रालयका अनुसार अब स्थापना हुने मेडिकल कलेजको पूर्वाधार विकास समिति गठनको प्रक्रिया अघि बढेको छ ।
‘सरकारी मेडिकल नभएका प्रदेशमा स्थापनाका लागि गठन आदेशको मस्यौदा निर्माण भइरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले नभएका ठाउ“मा कलेज स्थापनाको आन्तरिक तयारी भइरहेको बताए । ‘कलेजका लागि चाहिने जग्गा खोजीलगायतका काम भइरहेको छ,’ उनले भने, ‘त्यसका लागि कमिटीसमेत बनिसकेको छ ।’ सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सातवटै प्रदेशमा एक–एक मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो ।
सरकारी मेडिकल कलेज भएका प्रदेशमा भने नयाँ मेडिकल कलेज स्थापना प्राथमिकतामा छैन । प्रदेश नम्बर १ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ३ नम्बर प्रदेशमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: २४ पुष २०७३, आईतवार ०८:१८