सुर्खेत, २३ पुस । बाढीले घर बगाएर बेघर भएकी गगनसरी सुनारलाई आफ्नो ५ जनाको परिवारलाई पाल्न हम्मे हम्मे परेको छ । त्यसैमा श्रीमान् गणेश सुनारको एउटा हात नचल्ने भएको हुदाँ श्रीमान्को जिम्मेवारी पनि सबै आफुमा परी आएको छ, गगनसरीलाइ । पुनर्वास हुने आशै आशमा बसेकी गगनसरीको अब त आशा पनि मर्दै जान थालेको छ । आशै आशमा बसेकी उनी अहिले निराश भएकी छिन् ।

सुरुमा राहात स्वरुप आएको पचास हजार रुपैयाँ लिन नागरिकताको नाम नमिलेकाले छुटेको थियो, गगनसरीको परिवारको । पछि नाम सच्याएर गएपनि अहिलेसम्म उक्त राहात नपाएको उनको गुनासो छ । अनुहार निन्याउरो बनाउदौ बाढीपीडित गगनसरी भनिन्, ‘आफु दिनमा काम गरे वापत तिन सय रुपैयाँ पाउने गरेको र त्यही पैसाले घरखर्च चलाउने गरेको छु ।’ श्रीमान्को हात नचल्ने भएका कारण आफुले मजदुरी गरेर घरखर्च चलाउने गरेको उनले दुखेसो पोखिन् ।
‘बाढीले घर जग्गा सबै बगाएर लग्यो अहिले केही छैन, सरकारले राहात देला भनेर आशै आशमा तिन वर्ष हुनलाइसक्यो, खोई अहिलेसम्म केही पाएका छैनौ ।’ गगनसरी भन्छिन्, ‘बर्खाभरी पाल चुहिएर हैरान बनायो, आफनै कपडा र कट्ठा हालेर टालटुल गर्यौ, यति गर्दा पनि सरकारले हेर्दैन भने कहिले हेर्छ ।’
गगनसरी जस्तै बाढी पीडित सरस्वती योगीलाई पनि त्यस्तै पिंडा छ । श्रीमान्को कमाइले मात्रै ५ जनाको परिवार धान्न नसकिने भएकाले सरस्वती योगी आफ्नो २ वर्षको बच्चालाई काखे च्यापेर काममा जुट्नु पर्ने बाध्यता भएको दुखेसो पोखिन् । २ वर्षे बच्चालाई काखे च्यापेर काम गर्न जाँदा पनि ठगिने गरेको उनको गुनासो थियो । उनले भनिन्, ‘एउटाको कमाइले कति नै हुन्छ र २ वटा छोरा पढ्न जान्छन् यो सानो बालकलाई रेखदेख गर्ने कोही छैन त्यहीभएरसँगै लगेर काम गर्छु त्यही पनि ठेकेदारहरुले ठग्दीन्छन् ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गएर सोधपुछ् गर्दा राहात आउछ मात्रै भन्छन् तर अहिलेसम्म आउदैन बाढी पीडित सरस्वतीले भनिन् ।
०७१ साल साउन २९ गते आएको वर्षाले गगनसरी र सरस्वती जस्ता धेरै जना विस्थापित भएका छन् । उनीहरु अहिले वीरेन्द्रनगर नगरपालिका–१० खजुरा स्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका छन् । खोर्केखोला र इत्रामबाट विस्थापित मध्ये २६ घरधुरी बाढी पीडित यस शिविरमा रहेका छन् ।
बाढी पीडितका लागि आउने रकमका लागि आफुहरुले चिठी लेखे पनि विभागबाट कुनै खबर नआएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका लेखाअधिकृत परशुराम पराजुलीले जानकारी दिए । बाढी पीडित दैनिकी आएर राहातका लागि सोधपुछ गरेपनि विभागबाट पैसा नआउँदा राहात दिन नसकिएको लेखाअधिकृत पराजुलीले बताए । उनले भने ‘दैनिकी बाढी पीडित आएर सोधपुछ गर्छन् विभागबाट पैसा नआउँदा राहात दिन सकिएको छैन् ।’
प्रकाशित मिति: २३ पुष २०७३, शनिबार १०:१२