कञ्चनपुर, २२ पुस । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले दार्चुला जिल्लाको सदरमुकाम दार्चुलाको लास्कुगाडदेखि नमस्कारसम्म निर्माणाधीन तटबन्धको विहिबार निरीक्षण गरेका छन् ।
विसं २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले दार्चुलाको आधा सदरमुकाम बगाएको थियो ।
तटबन्ध निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले पटकपटक गुहार्दा समेत अझैसम्म पनि पूरा नभएकाले माओवादी नेताले विशेष चासोका साथ अवलोकन गरेको प्रेस सेन्टर नेपाल, कञ्चनपुरका अध्यक्ष राजेन्द्रप्रसाद अवस्थीले दार्चुलाबाट जानकारी दिए ।
पूर्वमन्त्री समेत रहनुभएका नेता भट्टले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउन सम्बन्धित कार्यालयका कर्मचारीलाई आग्रह गरे ।
दार्चुला सदरमुकामवासीको जीउधनको सुरक्षाको लागि सरकारले महाकाली नदीमा तत्काल तटबन्ध निर्माण र बजार क्षेत्रको पुनःनिर्माणको कार्य गर्नुपर्ने उल्लेख गर्दै उनले यसबारे गम्भीरताका साथ सरकारका मन्त्रीहरुसँग छलफल गर्ने बताए ।
दार्चुलाका बाढीपीडितले आफूहरुले उचित क्षतिपूर्ति समेत नपाएको र तटबन्ध निर्माण नहुँदा जोखिमका साथ बस्नुपरेको दुखेसो पोखे ।
माओवादी नेता भट्टले पीडितको माग अनुसार केन्द्रमा छलफल चलाएर पीडितको माग सम्बोधनका लागि प्रयास गर्ने आश्वासन दिए ।
यसैगरी, नेकपा (माओवादी केन्द्र) दार्चुलाले खलङ्गामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले संविधान कार्यान्वयनका लागि माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा खटिसकेकाले जिल्लाका नेता तथा कार्यकर्ताले हरेक वडा, गाउँ, नगरसम्म खट्न निर्देशन दिए ।
रासस