सुर्खेत, २१ पुस । सुर्खेतस्थितलायन्स क्लवहरुले वीरेन्द्रनगर स्थित बाल मन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरुका लागि विविध सामग्री सहयोग गरेका छन् ।
बाल संगठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरुका लागि एक एक जोर विद्यालय पोशाक, एक जोरन्यायो कपडा, कापी पेन्सिल र दिवा खाजा वितरण गरिएको हो ।
कार्यक्रममा लायन्सहरुका तर्फबाट रिजन चियरपर्सन कल्पना कार्कीले संगठनका सचिव गणेश कुमार कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।
सामग्री हस्तान्तरणपछि चियरपर्सन कार्कीले असहाय र विपन्नहरुको सहयोगका लागि लायन्सहरु सधैं तत्पर रहेको भन्दै विद्यालयलाई आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा बाल संगठनका सचिव गणेश कुमार कार्कीले शिशु स्याहार केन्द्रमा अतिविपन्न परिवारका बालबालिका पढ्ने गरेको उल्लेख गर्दै उनीहरुका लागि खेलौना लगायत अन्य शैक्षिक सामग्रीहरुको थप आवश्यक्ता रहेको उल्लेख गरे ।
बाल संगठनले विभिन्न समाजसेवी तथा परोपकारी संघ संस्थाहरुसँग शिशु स्याहार केन्द्रका लागि सहयोग जुटाउने अभियान जारी राखेको भन्दै उनले आगामी शैक्षिक वर्षमा विद्यार्थीको संख्या र सिकाईस्तर बढाउने प्रयास जारी रहेको जानकारी दिए ।
करिव २५ जनाविद्यार्थी भर्ना भएको उक्त शिशु स्याहार केन्द्रमा कापी कलम र पोशाक किन्न नसक्ने भएकै कारण विद्यार्थी संख्या घटेर १८ मा झरेको सचिव कार्कीले बताए ।
बाल संगठनको आग्रहमा अघिल्लो वर्ष अष्ट्रेलियामा रहेका सुर्खेती युवाहरुले आफ्नो आम्दानीको केहि रकम जोगाएर न्यायो कपडा र कापी कलम वितरण गरेका थिए भने सुर्खेतस्थित प्रतिक्षा मोन्टेश्वरीले पनि शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ मध्यपश्चिमका अध्यक्ष रामप्रसादपाण्डेले खान लाउन सजिलै पुग्नेहरुले आफ्नो खर्चको थोरै हिस्सा पनि सामाजिक तथा परोपकारी काममा लगाए समाजमा कोहि गरिबी र अभावमा बाँच्न नपर्ने जिकिर गरे ।
यसैगरी, लायन्स क्लवका कार्यक्रम संयोजक सम्राट गौतमले बाल संगठनको विशेष आग्रहमा शिशु स्याहार केन्द्रलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि आवश्यक्ता अनुसार सहयोग जुटाइने बताए ।
लायन्स क्लव अफ सुर्खेत काँक्रेविहारका अध्यक्ष विन्दू नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सनहरु विजय पराजुली, सरस्वती वस्नेत, महिला जेसीजका निवर्तमान अध्यक्ष प्रतिमा मल्ल लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार ०८:०२