नवलपरासी, १९ पुस । नवलपरासीसहित तराईका ३० जिल्लामा चुरे संरक्षण कार्यक्रम सञ्चालनमा छ ।
नवलपरासीका धुर्काेट, तिलकपुर, रामनगर, कुश्मा, हरपुर, बडहरा दुबौलिया, देवगाँव र रमपुरवाँ गाविस तथा बर्दघाट र रामग्राम नगरपालिकाअन्तर्गत रहेका चुरे क्षेत्रलाई संरक्षण गर्नका लागि काम भइरहेको जनाइएको छ ।
चुरे क्षेत्रको संरक्षणका लागि चुरे बुझ्ने र बुझाउने चेतना जागरण कार्यक्रम, संरक्षणका लागि विभिन्न समूह गठन र उपल्लो तटदेखि तल्लो तटबीच प्राकृतिक, भौगोलिक र सामाजिक रुपमा सन्तुलन ल्याउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
डिप ट्युबवेलको सुविधा
ग्रामीण क्षेत्रमा पाँच गाविसमा डिप ट्युबवेलको सुविधा भएपछि त्यहाँका किसान खुसी भएका छन् । सांसद विक्रम खनालको पहलमा देवगाउँ, गेर्मी, सनई, बडहरा दुबौलियालगायत स्थानमा डिप ट्युबवेलको व्यवस्था भएपछि यस क्षेत्रका किसान सिँचाइबाट लाभान्वित हुने भएका हुन् ।
डिप ट्युबवेल निर्माण भएपछि करिब एक हजार पाँच सय घरदूरी लाभान्वित भएका छन् । यस क्षेत्रमा खेतीयोग्य जमिन सिँचित हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । करिब रु ७६ लाखको लगानीमा उक्त स्थानमा ट्युबवेल जडान गरिएको हो ।
सांसद खनालले किसानको पहिलो माग सिँचाइको व्यवस्थापन रहेकाले आफूले समयसापेक्ष सो क्षेत्रको विकासका लागि काम गरिरहेको बताए ।
रासस