काठमाडौँ, १७ पुस । दृष्टिविहीन रुपा राईको आधुनिक गीति एल्बम ‘सम्झौताको डुङ्गाभित्र’ बजारमा आएको छ ।
किरात राई यायोक्खास्थित सुम्निमा हलमा वरिष्ठ सङ्गीतकार शान्तिराम राई, गायिका पार्वती राई र कवयित्री विमला तुम्खेवाले संयुक्त रुपमा एल्बम शनिबार यहाँ विमोचन गरेका हुन् ।
सो अवसरमा रचयिता राईले एल्बममा समेटिएका आठ गीत आफूले विभिन्न समयमा लेखेको जानकारी दिँदै जीवनमा उकाली–ओराली गर्ने क्रममा मानिसका दुःख, पीडा र व्यथालाई समेटेर गीत तयार गरेको बताए ।
एल्बममा ‘सम्झौताको डुङ्गाभित्र’ टाइटल गीतसँगै ‘कैयौँ समय’, ‘एकान्त यो’, ‘फर्केर नआई’, ‘खुसीले लेख्दा’, ‘अरुको भन्दा’, ‘खोज्दै नखोज’ र ‘मायाको सङ्घार’ बोलका गीत छन् ।
यस्तै, एल्बममा कृष्णभक्त राई, अञ्जु पन्त, नरेन्द्र प्यासी, स्मृति शाही, राजेशपायल राई, श्रेया चेम्जोङ, सुन्दर लामा र कविता काफ्लेले स्वर दिएका छन् । रु २५० मूल्य तोकिएको सो एल्बम ज्योति केसी र किरण केसीको लगानीमा बजारमा आएको हो ।
रासस