पाल्पा, १६ पुस । खानेपानीको मुहानसुक्न थालेपछि यहाँका राजनीतिक दलका नेताले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मुहान संरक्षण हुन नसके पहाडी जिल्ला पाल्पामा खानेपानीको सङ्कट पैदा हुने देखिएको छ ।
सरकारले सार्वजनिक धारा विस्थापित गर्दै घर घरमा निजी धारा जडान गर्ने अवधारणा ल्याएको बेला पाल्पाका दलहरुले एकैस्वरमा नयाँ आयोजनासँगै पुराना खानेपानीका मुहान संरक्षणमा सरकारले चासो देखाउँनुपर्ने बताएका हुन ।
जलवायु परिर्वतनले खानेपानीका मुहान बर्सेनि सुकिसकेका, कतिपयमा पानीको मात्रा घटेको र कतिपय मुहान भूकम्पले भाँसिएपछि पहाडी जिल्ला पाल्पामा पानीको समस्या बढ्दो क्रममा रहेको छ ।
पानीका प्रशस्त मूल रहेका क्षेत्रमा अहिले पानीका मुहान सुकेका छन् भने पानीको मुहान नै नभएका बस्तीमा लिफ्ट मार्फत पानीको सुविधा पुर्याइएको छ ।
नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले पानीका मुहानसुक्दै गएकाले त्यसको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । पहिला प्रशस्त पानी बग्ने क्षेत्रमा अहिले पानी कम देखिन थालेका छन् ।
नेकपा एमाले, पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार चुरे क्षेत्र माथिल्लो भाग गोठादीदेखि सहलकोट, बाकामलाङ्गसम्म सुक्खा क्षेत्र भएकोले पानी मुहान संरक्षण गर्न नसकेको अवस्थामा खानेपानीका लागि समस्या पैदा हुनेछ । उनले देवीनगरको खानेपानीको मुहान संरक्षण चासो राखेमा पानीको मुहान संरक्षण हुने र पानी सुक्न नपाउने बताउँछन् ।
राप्रपाका अध्यक्ष डुलबहादुर कुवँरका अनुसार कुसुमखोला गाविसको रिब्दीकोट क्षेत्रको खानेपानीको मुहान संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । रिब्दीकोटको खानेपानी आयोजनाबाट पाल्पा जिल्लाका पालुङ्गमैनादी, ठिमुरे, कुसुमखोला, खस्यौली, ख्याहा, देउरालीलगायतका गाविसका स्थानीयवासीले खानेपानी उपभोग गर्दै आएका छन् ।
दर्लमडाँडाका स्थानीय बासिन्दा तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष भगवान भण्डारीले राम्दी क्षेत्रका स्थानीयवासीले प्रयोग गर्ने खानेपानीका मुहान धेरै सुकिसकेको बताउँछन् । खानेपानीका ठूला आयोजना सञ्चालन गर्दा साना पानीका मुहान संरक्षणमा चाँसो नदेखाउँदा पछि पानीको विकराल समस्या पैदा हुनसक्ने खतरा समेत उत्तिकै रहेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाल्पाले आर्थिक वर्ष ०७३/७४ को बजेट तथा कार्यक्रममा प्रमुख केशव शाक्यले यस आवमा तीन आयोजना सम्पन्न, पाँच सम्पन्न हुने र १४ वटा सम्पन्न गर्ने प्राथमिकता र ९० आयोजनामा रु १८ करोड ३६ लाख ६७ हजार बजेट रहेको जानकारी दिए । रासस