काठमाडौँ, १५ पुस । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै नेपाली काँग्रेसले ४१ वर्षअघि अवलम्बन गरेको नीति अहिले झनै सान्दर्भिक बनेको छ ।
मुलुकमा यतिखेर संविधान संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा प्रमुख राजनीतिक शक्तिबीच धु्रवीकरण बढ्दै गएको छ । राजनीतिक ध्रुवीकरणले संविधान कार्यान्वयनमा चुनौती देखिएका बेला काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले तत्कालीन समयमा अवलम्बन गरेको मेलमिलापको नीति अहिले सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता बढेको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।
काँग्रेस नेता दीलेन्द्रप्रसाद बडू राष्ट्रिय अखण्डता र प्रजातन्त्र रक्षाका लागि देशभित्रका शक्तिहरु एक हुनुपर्छ भनेर तत्कालीन अवस्थामा बिपी कोइराला प्रवासबाट स्वदेश फर्कनुभएको बताउँछन् ।
नेता बडू भन्छन् – “वर्तमान राजनीतिक समस्या समाधान गर्न पनि प्रमुख दलहरु एक हुनुको विकल्प छैन, मेलमिलापको नीतिलाई सही अर्थमा बुझ्न सकेमात्र संविधान कार्यान्वयन र लोकतन्त्र सुदृढीकरण गर्न सकिन्छ ।”
दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपीलगायत नेतालाई राजा महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।
काँग्रेस नेत्री पुष्पा भुसाल प्रमुख दलहरु दलीय स्वार्थभन्दा माथि उठेर मेलमिलापका साथ संवादमार्फत अघि बढेमात्र संविधान कार्यान्वयनमा देखिएका चुनौतीको सामना गर्न सकिने बताउँछन् ।
तत्कालीन समयमा राष्ट्रियता खतरामा परेका बेला नेता बिपी कोइरालाले ज्यानको बाजी लगाएर मुलुक र जनताको हितका लागि प्रवासबाट स्वदेश फर्केको स्मरण गर्दै नेत्री भुसाल भन्छन्–“अहिलेको राजनीतिक नेतृत्वले त्यस इतिहासबाट पाठ सिकेर दलगत अडानमा लचक बनी मुलुकलाई निकास दिनुपर्छ ।”
राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काँग्रेसका नेताहरूलाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए ।
काँग्रेस नेता रामकृष्ण यादव प्रमुख दलबीच अहिले देखिएको विमतिको अवस्थामा मेलमिलापको नीति झन् सान्दर्भिकता बनेको बताउँछन् । मुलुक र लोकतन्त्रको प्रवाह नगरी व्यक्तिगत प्रतिष्ठालाई जोगाउन अघि सारिएका दलका अडानले समस्या उत्पन्न भएको बताउँदै उनी भन्छन् – “दलगत स्वार्थभन्दा माथि उठेर एकता र मेलमिलापको नीतिलाई सबै दलले मनन गरेमात्र संविधान कार्यान्वयन सहज हुन्छ ।”
मेलमिलापको नीतिका साथ बिपी स्वदेश फर्कनुभएको दिन हरेक वर्ष पुस १६ गते काँग्रेसले देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका जननायक बिपी कोइराला कुनै दल विशेषको मात्र नभई सम्पूर्ण मुलुककै राजनेताका रुपमा चिनिन्छन् ।
बिपीको राष्ट्रिय मेलमिलाप र एकताको सन्देश तत्कालीन राजनीतिक परिवेशमा मात्र नभई आज दलहरूको बीच देखिएको आपसी अविश्वास र असमझदारी हटाई संविधान कार्यान्वयन र संविधानतः तिनै तहका निर्वाचन गर्न पनि झन सान्दर्भिक देखिएको छ ।
राजनीति मात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेका दृष्टिकोण अद्यापि सान्दर्भिक र अपरिहार्य देखिएको छ ।
यसै सन्दर्भमा भोलि पुस १६ गते काँग्रेसले केन्द्रीय कार्यालय र सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा ४१ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
रासस