काठमाडौ १५ पुस । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चौथो पुस्ताको प्रविधि मानिने फोरजी सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको छ । सञ्चालनका लागि उपकरण तथा सफ्टवेयर जडान र सिष्टम अपग्रेडलगायत काम सकेर टेलिकम सेवाको परीक्षणका क्रममा रहेको छ ।
नियामक दूरसञ्चार प्राधिकरणसँगको शर्तअनुसार टेलिकमले निर्धारित मितिमै फोरजी सेवा शुरू गर्नेगरी आवश्यक तयारी तीव्र बनाएको छ । टेलिकमले आइतवारदेखि काठमाडौं र पोखरामा एकसाथ फोरजी सेवा शुरू गर्ने भएको हो ।
निर्धारित मितिमै फोरजी सेवा शुरू गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए । ‘त्यसैअनुसार हाल परीक्षणको काम पनि चलिरहेको छ,’ उनले भने ।
शुरूमा उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुर र पोखराका मुख्यमुख्य क्षेत्रमा फोरजी चलाउन सकिनेछ । राजधानी र शहरी क्षेत्रमा पछिल्लोपटक राखिएका मोबाइल टावरसहित उपकरणहरू फोरजीका लागि समेत उपयुक्त भएकाले फोरजीका लागि पूर्वाधारको क्षेत्रमा तयारी पूरा भएको छ ।
टेलिकमले १८ सय ब्याण्डमा आफूसँग रहेको १५ मेगाहर्ज फ्रीक्वेन्सी रिफार्मिङ गरी ५ मेगाहर्ज फोरजीका लागि छुट्ट्याइसकेको छ । हालका लागि सोही ५ मेगाहर्ज फ्रीक्वेन्सीबाट सेवा आरम्भ गरिने सहप्रवक्ता अधिकारीले बताए । ‘शुरूपछि त्यसको विस्तारमा भने थप फ्रीक्वेन्सी आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि हामीले प्राधिकरणलाई अनुरोध गरिसकेका छौं ।’ कम्पनीले हालको फ्रीक्वेन्सीमा ३२ दशमलव ४ एमबीपीएस गतिको फोरजी इण्टरनेट सेवा उपलब्ध गराउनेछ । बजारको माग र फ्रीक्वेन्सीको व्यवस्थापनसँगै क्षमतालाई बढाउँदै लगिने कम्पनीले जानकारी दिएको छ ।
आइतवार विशेष कार्यक्रमका बीच टेलिकमले फोरजी सेवाको औपचारिक शुरुआत गर्दै छ । त्यसको महशुल यकिन भइनसकेको भए पनि थ्रीजीको तुलनामा महँगो नहुने सहप्रवक्ता अधिकारीले जानकारी दिए । हाल टेलिकमले १ रुपैयाँ प्रतिएमबीपीएस डाटा प्याकेजबाहेक थ्रीजी इण्टरनेट उपलब्ध गराउँदै आएको छ । फोरजी सेवाको जानकारी, महशुल तथा प्याकेजलगायत जानकारी भने सार्वजनिक कार्यक्रममार्फत् नै घोषणा गरिने अधिकारीले बताए ।
कम्पनीले सेवा शुरू गर्न २ दिन अघिसम्म पनि प्राधिकरणबाट महशुल दर ट्यारिफ स्वीकृत भने गराएको छैन । ट्यारिफ अनुमति नलिईकनै प्रवद्र्धनात्मक योजना प्रमोशनल प्लान अनुसार टेलिकम अगाडि बढ्न सक्ने प्राधिकरण अध्यक्ष दिगम्बर झाले जानकारी दिए । ‘भोल्युम बेसमा डाटा रेट घटाउँदै लैजाने विधि नै प्रमोशनल प्लान हो,’ उनले भने, ‘सेवा शुरू गरेको ३ महीनासम्म प्राधिकरणले छूट दिएको छ ।’ टेलिकमका पुराना सिम कार्डमा भने फोरजी चल्ने छैन । कम्पनीले पछिल्लो समयमा वितरण गरेका युनिभर्सल सिममा मात्रै फोरजी चल्नेछ । टेलिकमका ग्राहकले आफ्नो पुरानो सिम कम्पनीका नयाँ सिमसँग साटेर फोरजी चलाउन सक्नेछन् ।
चौथो पुस्ताको ताररहित प्रविधिका रूपमा रहेका फोरजीलाई मोबाइल ब्रोडब्याण्ड सेवा मानिन्छ । विकसित मुलुकहरू पाँचौं पुस्ताको प्रविधि अर्थात् फाइभ जीको तयारीमा जुटिरहेको बेला नेपालमा भने भर्खर यस शुरू हुँदै छ । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ ९आईटीयू०ले तोकेको मापदण्डअनुसार, मोबाइलमार्फत दिइने १ सय एमबीपीएस गतिमा चल्ने इण्टरनेटसहितको सेवालाई फोरजी मानिन्छ । खासगरी फोरजीको माध्यमबाट लाइभ भिडियो स्ट्रिमिङ, ठूलाठूला फाइल डाउनलोड तथा अपलोड गर्न द्रुत गतिमा इण्टरनेट उपलब्ध हुने खबर आजको आर्थिक अभियान दैनिकमा गोपाल साउदले लेखेका छन् ।
प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार ०६:५३