इटहरी, १२ पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरीको सदरमुकाम इनरुवामा भएको खो खो खेलमा नेपाली सेनाले पुरुष र महिला दुुवै समूहतर्फ स्वर्णपदक हात पारेको छ ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको क्षेत्रीय रङगशालामा दश हजार मिटर दौडमा महिला धाविकाहरु । दश हजार मिटर दौडमा सशस्त्रकी कान्छीमाया कोजुले स्वर्ण पदक प्राप्त गरेकी छिन । तस्बिरः याम प्रधान, इटहरी, रासस
प्रतिस्पर्धामा महिलातर्फ नेपाली सेनाले मध्यपश्चिमाञ्चललाई ५–३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक हात पारेको हो । त्यसैगरी पुरुषतर्फ पनि नेपाली सेनाले मध्यमाञ्चललाई एक पाली खेल्न बाँकी रहँदा १०–६ अङ्कले हराउँदै स्वर्ण पदक हात पारेको हो ।
महिलातर्फ पहिलो पालीमा मध्यपश्चिमाञ्चलले १ अङ्कमात्र जोडेको थियो भने दोस्रो पालीमा नेपाली सेनाले ५ अङ्क बनाउँदै फलोअनका आधारमा जित हासिल गरेको हो ।
महिलातर्फ सुदूरपश्चिमाञ्चल टिमले मध्यमाञ्चल टिमलाई १४–१२ अङ्कले हराउँदै कास्य पदक हात पार्यो ।
त्यसैगरी पुरुषतर्फ नेपाली सेनाले मध्यमाञ्चललाई १०–६ अङ्कले हराउँदै चौथो पाली खेल बाँकी छँदै फलोअनका आधारमा स्वर्ण पदक हात पार्न सफल भयो भने पूर्वाञ्चललाई हराउँदै सुदूरपश्चिमाञ्चलले कास्य पदक हासिल गरियो ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दहालले विजयी खेलाडीलाई पदक तथा प्रमाण पत्र प्रदान गरे ।
खो खो खेलमा पाँच विकास क्षेत्र र विभागीय टोली नेपाली सेनासहित महिला र पुरुष दुवैतर्फ ६–६ वटा टोलीको सहभागिता रहेको थियो ।
पाँचौ राष्ट्रिय खेलकुदमा समावेश गरिएको खो खो खेल छठौं राष्ट्रिय प्रतियोगितामा समावेश भएको थिएन भने सातौंमा आएर पुनः समावेश गरिएको हो ।
कान्छी मायाँलाई स्वर्ण
सशस्त्र प्रहरीकी धाविका कान्छीमाया कोजुले आज भएको १० हजार मिटर महिलातर्फको दौडमा ३७ मिनेट १३ सेकेन्डमा दौड पुरा गरी स्वर्ण पदक हात पारेकी छिन् ।
उनले यसअघि पाँच हजार मिटर दौडमा पनि स्वर्ण पदक नै हात पार्दै लामो दुरीकौ दौड प्रतियोगितामा कुशल धाविका बन्ने सुवर्ण अवसर सावित गरेकी छिन् ।
प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लवकी धाविका विश्वरुपा बुढाले ३८ मिनेट ३६ सेकेण्डमा दौड पुरा गरी रजत र सोही क्लवकी धाविका लक्ष्मी पाण्डेले ३९ मिनेटमा उक्त दुरी पार गरेर कास्य पदक माथि कब्जा जमाएकी छिन् ।
यसैगरी आजै सम्पन्न भएको महिलातर्फको चारसय मिटर दौडमा नेपाली सेनाकै त्रिभुवन आर्मीकी सङ्गीता मेचेले स्वर्ण पदक प्राप्त गरेकी छिन् भने नेपाली सेनाकै कृष्णा चौधरीले रजत र सशस्त्र प्रहरी बल एपिएफकी भागवती चौधरीले कास्य पदकमा चित्त बुझाउनुपरेको छ ।
आजै भएको पुरुषतर्फकोृ चारसय मिटर दौडमा पनि नेपाली सेनाका धावक सोमबहादुर कुँवरले स्वर्ण पदक जितेका छन् भने सेनाकै हिमाल घिसिङले रजत र सशस्त्र प्रहरीको एपिएफका धावक शिवराज पार्कीले कास्य पदक प्राप्त गरेका छन् ।
महिलातर्फको पाँच हजार मिटर दौडमा सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले स्वर्ण तथा नेपाली सेनाकी विश्वरुपा बुढाले रजत र सेनाकै सानुमाया कार्कीले कास्य पदक जितेकी छिन् ।
पुरुषतर्फको पाँच हजार मिटर दौडमा सशस्त्र प्रहरीे एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जिते भने नेपाली सेनाका हरिकुमार धिमालले रजत र नेपाल प्रहरीका भूमिराज राईले कास्य पदक जितेका छन् ।
त्यसैगरी महिला १५ सय मिटर दौडमा पनि नेपाली सेनाकै सरस्वती भट्टराईले स्वर्ण पदक प्राप्त गरिन् भने सशस्त्र एपिएफकी फूलसरी रानाले रजत र नेपाली सेनाकै लक्ष्मी पाण्डेले कास्य जितेकी छिन् । पुरुषतर्फको दौडमा पनि नेपाली सेनाका हरिकुमार धिमालले स्वर्ण पदक हात पारे भने सेनाकै धावक छत्र दाहालले रजत र नेपाल प्रहरीका करण खड्काले कास्यमा चित्त बुझाउनुपर्यो ।
त्यस्तै आठसय मिटर पुरुषतर्फको दौडमा नेपाली सेनाका धावक सोमबहादुर कुमालले स्वर्ण, सेनाकै अर्का धावक जीवन चौधरीले रजत र सशस्त्र प्रहरीका धावक हिम्मत धार्मीले कास्य पदक प्राप्त गरेका छन् । महिलातर्फको आठसय मिटर दौडमा पनि नेपाली सेनाकी धाविका सरस्वती भट्टराईले स्वर्ण, सेनाकै अर्का धाविका सानुमाया कार्की रजत र सुदूरपश्चिमाञ्चलकी सीमाकुमारी चौधरीले कास्य पदक प्राप्त गरिन् । रासस