पोखरा, १२ पुस । पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मला कोटमा रु ४५ लाखको लागतमा सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण भइरहेको छ ।
कोर्ट निर्माणका लागि आवश्यक रकम अर्मलामा जन्म भई हाल बेलायत निवासी जीतबहादुर गुरुङ (डब्लू,ओ,वान)को सक्रियतामा अर्मला कोट युके समाजले उपलब्ध गराएको नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले जानकारी दिए ।
यहाँले पहिलो चरणमा जग्गा किन्ने, १४० थान तार जाली लगाउने, मैदान सम्याउने र प्याराफिट निर्माणको कार्य सम्पन्न गरिएको बताए ।
कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सीता प्राविको हातामा लगभग छ रोपनी जग्गामा निर्माण गरिएको सो बास्केटबल कोर्टसम्म यातायातलगायत अन्य आवश्यक भौतिक पूर्वाधारको सुविधा पुगेको छ भने रु ८० हजारको लागतमा ट्रान्सपरेन्ट फाइवर बोर्ड राखिएको नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जीतबहादुर गुरुङ बताउँछन् ।
उनका अनुसार “कुनै समयमा अर्मलाकोट छेलो खेल्ने ठाउँका लागि प्रशिद्ध थियो” भने– “प्रत्येक वर्ष श्रीपञ्चमीको मेलामा यहाँ छेलो प्रतियोगिता हुन्थ्यो र टाढा टाढाबाट छेलो खेल्न अर्मला आउँथे अब बास्केटबल र भलिबल खेलका प्रतियोगिता सञ्चालन गर्दछौँ ।”
अर्मलामा सोमबार आयोजित एक कार्यक्रमका बीच जापानी नागरिक कियोसी सातो सानले सीता प्राविको शैक्षिक विकासका लागि रु ८४ हजार आर्थिक सहयोग गरेका छन् । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन भुपालसिंह गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा समाजसेवी जीतबहादुर गुरुङ र जापानमा रकम सङ्कलन गरेर विद्यालयलाई सहयोग गर्दै आउनुभएका जापानीज नागरिक ८० वर्षीय सातोसनलाई अर्मलावासीको तर्फबाट ढाका टोपी, खादा र भाङ्ग्रा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा अर्मलामा नवनिर्मित गुरुङ सामुदयिक घर (खेपना) का अध्यक्ष कर्णबहादुर गुरुङ, लायन्स क्लब अफ पोखरा चौतारीका रमेश केसी, एमाले गाविस अध्यक्ष चूडामणि आचार्य अन्नपूर्ण माविका प्रअ यमनारायण लामिछाने, सीता प्राविका प्रअ गणेश खत्रीलगायतले अर्मलाको विकास निर्माणमा सङ्गठित भएर जुट्नु पर्ने बताए ।
रासस