कालीकोट (खुलालु), ११ पुस । मकै र धान भित्र्याएरसँगै तमाखुले हरियाली हुने खुलालुको खेतबारीको दृश्य अहिले फेरिने थालेको छ । स्थानीय वासिन्दा समूहमा आवद्ध भई तमाखु विस्थापित गर्ने अभियानमा जुटेपछि खुलालुको दृश्य फेरिएको छ भने खेतबारीमा तमाखुको साटो तरकारीको हरियालीले यहाँको रौनकता नै बदलिएको छ ।
कालीकोटको लालु–४ खुलालुका किसानहरुले अहिले तमाखु विस्थापित गरेका छन् । हिउँदको सजिनमा उनीहरुले तमाखु विस्थापित गरी तरकारी खेती शुरु गरेका छन्् । पानी नपर्दा सिंचाइ सुविधा नभएका कारण खेत बाँझो राख्नु भन्दा तमाखु लगाउनु पर्छ भन्ने मान्यतामा रहेका यहाँका किसानले तरकारी खेतीबाट हुने फाइदा बुझेपछि व्यवसायीक तरकारी खेती शुरु गरेका छन् ।
खुलालुमा अहिले किसानको बारीमा तरकारी लटरम्म फलेको छ । काउली टमाटर तथा भाजी लगाएका यहाँका किसानले बारीमा तरकारी फलाएपछि आय आर्जनमा समेत वृद्धि भएको छ । तरकारी खेतीले महिलाको आय आर्जन बढेपछि उनीहरु आफ्ना आवश्यकता पुरा गर्न सक्षम भएका छन् ।
तरकारी खेतीबाट आम्दानी हुन थालेपछि घरमा दैनिक आवश्यक पर्ने साबुन, तेल किन्न पनि श्रीमान्को भर पर्नु पर्ने बाध्यताबाट यहाँका महिलाहरु मुक्त भएका छन् । ‘तरकारी बेचेर हामीलाई आफ्ना आवश्यकता पुरा गर्न सजिलो भएको छ’ लालु ४ खुलालुकी लिला बिष्टले भनिन्, ‘यसअघि हामीले कहिल्यै पैसा देख्न पाउँदैन थियौं ।’
पेशाले शिक्षक रहेका लालुका बुद्धि बिष्टले तरकारी खेतीबाट आफुहरु हौसिएको बताए । उनले बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमा पढाए पनि बिहान बेलुकाको समयलाई तरकारी खेतीमा लगाउन थालेको बताए । ‘तरकारीबाट धेरै सम्भावना देखेपछि मैले तरकारी खेतीमा लागेको हुँ’ उनले भने, ‘कुनै पनि काम अरुलाई गर भन्नु भन्दा आफैबाट सुरु गर्दा त्यसको प्रभाव अरुलाई पनि पर्ने रहेछ ।’
खुलालु गाउँमा किसानहरुले प्याज खेतीका लागि उपयुक्त भएको भन्दै प्याज खेती शुरु गरेपछि यहाँको खेती फस्टाएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक पर्शुराम काफ्लेले बताए । खुलालुका किसानले उत्पादन गरेको प्याजको विरुवा लालु, रुप्सा, कोटवाडा, कुमालगाउँ, माल्कोट लगायतका गाविसमा पुगेको काफ्लेको भनाई छ ।
जिल्ला कृषि विकास कार्यालयले खुलालुमा कृषक पाठशाला सञ्चालन गरेपछि यहाँका किसानहरु व्यवसायीक खेतीतर्फ आकर्षित भएका हुन् । कृषिमा किसानलाई भविष्य देखाउन सके गाउँका हरेक वस्तीमा केही न केही फलाउन सकिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए । ‘कालीकोटको हरेक वस्तीमा हरेक सम्भावना छ’ उनले भने, ‘त्यो सम्भावनाका बारेमा कृषकलाई बुझाउन सकिएको छैन ।’ जिल्लामा हरेक क्षेत्रको सम्भावना अध्ययन गरी त्यहाँ उत्पादन हुने तरकारी खेतीका लागि किसानलाई आकर्षित गरिएको उनको दावी छ ।
वालीका लागि उपयुक्त ठाउको पहिचान गरी त्यही खेतीका लागि पकेट क्षेत्र बनाउने अभियानमा कृषि विकास कार्यलय लागेको उनले जानकारी दिए । वरिष्ठ कृषि विकास अधिकृत सिंहले भने, ‘अब विकास छरिएर हुँदैन, नमूनाको रुपमा गर्ने कृषकलाई प्रोत्साहन गर्न सके प्रतिफल राम्रो दिनेछ ।’
प्रकाशित मिति: ११ पुष २०७३, सोमबार ०८:३४