कञ्चनपुर, १० पुस । औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो ।
औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्काउन थालेका छन् । खरिद प्रक्रिया रोकिँदा आपूर्तिमा समस्या हुँदा जिल्लाभरि नै औषधिको अभाव भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका स्टोरकिपर पदमराज जोशीले बताए । “सिटामोल, मेट्रो, डाइजिन, बी कम्प्लेक्स, लगायतका अत्यावश्यक औषधिको समेत स्टोरमै अभाव छ”, उनले भने ।
उपचारका लागि पिपलाडी स्वास्थ्य चौकी पुगेकी रामकली रानाले ज्वरोको औषधि सिटामोलसमेत नपाउँदा बाह्य क्षेत्रबाट खरिद गर्न स्वास्थ्यकर्मीले पर्चामा लेखेर पठाएको बताए ।
स्वास्थ्य चौकीका प्रमुख तीर्थराज भट्टले स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध हुने ३६ प्रकारका औषधिमध्ये चार/पाँच प्रकारका औषधि मात्रै उपलब्ध रहेको बताए । “औषधि उपलब्ध नहुँदा उपचारका लागि पुग्ने बिरामीलाई औषधि खरिदका लागि बाह्य क्षेत्रमा पठाउनु बाध्यता भएको छ”, उनले भने , “औषधि नहुँदा बिरामीसमेत घटेका छन ।”
जिल्ला तहबाटै औषधि खरिदका लागि रु ४८ लाखमा टेन्डर आह्वान गरी घटाघटीमा रु २२ लाखमा टेन्डर स्वीकृत भएकाले दश/पन्ध्र दिनभित्रै ४० प्रकारका औषधि स्वास्थ्य संस्थामा आपूर्तिको व्यवस्था मिलाउन लागेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताए । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि जिल्लाबाटै औषधिको आपूर्ति गरिन लागेको उनको भनाइ छ । रासस