काठमाडौं, ८ पुस । यसवर्षको उखुको मूल्य निर्धारणका लागि सरकार, उखु उत्पदान किसान र चिनी उद्योगीका बीचमा बिहीबार भएको पाँचौं पटकको वार्ता पनि निष्कर्षविहिन भएको छ ।
विहिवार दिउसो उद्योग मन्त्रालयमा भएको वार्ता असफल भएपछि उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको संयोजकत्वमा वार्ता टोली बनेको छ । विहिवार उद्योगमन्त्री नविन्द्रराज जोशी, उद्योग राज्यमन्त्री कञ्चनजंग बादे, उद्योग सचिव शंकरप्रसाद कोइराला, कृषि सचिव अन्नपूर्ण दाससमेतको उपस्थितिमा चिनी उद्योगी र किसान प्रतिनिधिबीच भएको वार्ता टुंगोमा पुग्न नसकेको हो । यसअघि उद्योगी र किसानबीच काठमाडौँमा तीन पटक र बारामा एक पटक गरी चारपटकको वार्ता असफल भएको थियो ।
सरकारको मन्त्रीस्तरीय रोहबरमा उद्योगमन्त्रालयमा बिहीवार पाँचौपटकको वार्ता किसानको माग अनुसार उखुको मूल्य दिन चिनी उद्योगीहरुले अस्वीकार गरेपछि निष्कर्षमा पुग्न नसकेको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताए । उद्योग सञ्चालक चिनी उद्योगीहरुले प्रतिक्वीन्टल उखुको मूल्य ५१३ रुपैया मात्र दिन सकिने बताए भने किसानहरुले उखु उत्पादन कम भएको र चिनीको मूल्यको अनुपातमा प्रतिक्वीन्टल उखुको मूल्य ५ सय ५६ रुपैयाँ हुनु पर्ने अडानमा रहेपछि वार्ता टुंगोमा पुग्न नसकेको हो ।
मैनालीका अनुसार राज्यमन्त्री बादेको नेतृत्वमा गठित समितिमा उद्योग सचिव कोइराला, कृषि सचिव दास, चिनी उत्पालक संघका अध्यक्ष शशिकान्त अग्रवाल, उद्योगी राजेश केडिया, उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीलगायत नौ सदस्यीय वार्ता टोली गठन भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा १० बजे अर्को वार्तामा बस्ने महासंघका अध्यक्ष मैनालीले बताए ।
वार्तामा उखु उत्पादक महासंघ नेपालका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको नेतृत्वमा मोरङदेखि कपिलवस्तुसम्मका उखु उत्पादक संघका अध्यक्षहरु र चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालको नेतृत्वमा चिनी उद्योगीहरुको सहभागिता रहेको थियो । उखु उत्पादक र चिनी उत्पादकबीच उखुको मूल्यसम्बन्धी वार्ता नमिल्दासम्म कुनै पनि उद्योगलाई उखु नबेच्ने अडान किसानहरुले लिएपछि उखुको मूल्य तत्काल तोक्नुपर्ने दबाब चिनी उत्पादकमाथि परेको छ ।
प्रकाशित मिति: ८ पुष २०७३, शुक्रबार ०६:१५