रामपुर (पाल्पा), ६ पुस । विद्यालयको भवन अभावमा मदरसा नुरुल हुदा निम्न माध्यमिक विद्यालय, रामपुर–६ इस्लामपुरका विद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् ।
कक्षा बाल विकासदेखि आठ कक्षासम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा आवश्यकता अनुसार भवन निर्माण नहुँदा विद्यालयको प्राङ्गणमा खुल्ला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराउँदै आइएको छ ।
कक्षा ३ र कक्षा ६ का विद्यार्थी कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनि बसेर पढ्न बाध्य भएका हुन् । “बाहिर बसेर पढ्दा पढाइतिर त्यति ध्यान नजाने र होहल्लाले पठनपाठन प्रभावित बनेको छ”, कक्षा ६ का विद्यार्थी रमजान अलीले भने ।
बाहिरी वातावरणमा राखेर पढाउन र विद्यार्थीलाई पढाइमा मात्र ध्यान केन्द्रित गराउन कठिन भएको शिक्षक अमिना पाठकले बताए । पानी परेका बखत विद्यालय नजिकै रहेको मस्जिदमा लगेर पठनपाठनको व्यवस्था मिलाइएको विद्यालयका सहायक प्रधानाध्यापक महम्मद अलीले बताउनुभयो । भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, पाल्पा र विभिन्न सङ्घ संस्था, तथा शुभेच्छुकलाई अनुरोध गरिएको अलीले बताएका छन् ।
निजीस्तरबाट सञ्चालित यस विद्यालयमा मुस्लिम समुदायका बालबालिका मात्र पढ्ने गर्छन् । यहाँ उर्दु, दिनियात, अरबी, कुरान, नेपाली, गणित, सामाजिक, विज्ञान, अङ्ग्रेजीलगायतका विषय पठनपाठन हुँदै आएको छ ।
विसं २०५३ मा स्थापना भएको यस विद्यालयमा हाल १६० जना विद्यार्थी र १२ जना शिक्षक रहेका छन् ।
रासस