बेनी (म्याग्दी), ६ पुस । म्याग्दीको बेनी नगरपालिका–८, अर्थुङ्गेस्थित पिपलबोटमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ ।
मङ्गलबार पिपलबोटका साम्मप्रसाद पौडेलको ढुङ्गामाटोले बनेको टिनको छानो भएको दुईतले कच्ची घर र सोहीसँग जोडिएको एकतले गोठमा अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।
प्रनाउ खड्काका अनुसार आगोलागी भएको खबर प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरीको टोली र स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरेका थिए ।
आगलागीबाट रु ५० हजार नगद, सात तोला सुन, खाद्य सामग्री, लत्ताकपडा, मोबाइल र जिन्सी सामानलगायत गरी करिब रु ४० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । घरगोठ जलेर नष्ट भएपछि पीडितले सहयोगको याचना गरेका छन् ।
रासस