लमजुङ (बेसीसहर), ६ पुस । सोनाम ल्होसारको अवसरमा लमजुङमा प्रथम ऐतिहासिक तामाङ सांस्कृतिक महोत्सव हुने भएको छ । तामाङ जातिको सांस्कृतिक पर्व २८५३ औँ सोनाम ल्होछार ‘नामे झ्या ल्हो’को अवसरमा सांस्कृतिक महोत्सव हुन लागेको हो ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति लमजुङले मङ्गलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवको बारेमा जानकारी गराएको हो । महोत्सव माघको ८ र ९ गते बेसीसहरको फूलबारीमा हुनेछ ।
‘भाषा, धर्म, संस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान’ भन्ने मूल नाराका साथ प्रथम ऐतिहासिक तामाङ महोत्सवको आयोजना गर्न लागिएको घेदुङ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष अजय तामाङले बताए ।
तामाङ जातिको लोप हुन लागेको संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष तामाङले बताए । “उत्पादन, निर्माण र सम्वृद्धिको आधारमा नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नका लागि महोत्सव गर्न लागेका छौँ” अध्यक्ष तामाङले भने ।
महोत्सवमा तामाङ जातिको फोटो प्रदर्शनी, लामा सङ्ग्रहालय, तामाङ सांस्कृतिक सङ्ग्रहालय, वोन्वो सङ्ग्रहालय, तामाङ जातिको लिपिबद्ध सामग्रीको पुस्तकालय, तामाङ खाना परिकार, लामा प्रशिक्षण, ताम्बो प्रशिक्षणलगायत तामाङ जातिको पहिचान झल्कने स्टल राखी कार्यक्रम गरिनेछ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साङ्गीतिक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ । जिल्लाभित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्नमा पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।
रासस