काठमाडौ, ५ पुस । भूकम्प गएको २० महिना बितिसकेको छ । तर पनि भूकम्पपछिको पुनर्निर्माण भने कछुवाको गतिमा छ । भूकम्प गएको २० महिनामा ५ लाख घरमध्ये जम्मा ८ हजार ३ सय ३३ घर मात्रै निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यस अवधिमा १७ हजार ९९ घर बन्ने क्रममा छन् ।
बाँकी भने अस्थायी टहराको भरमा छन् । यस अवधिमा सरकारले ४ लाख ४८ हजार ८ सय ११ घरपरिवारलाई सरकारले ५० हजार रुपैयाँको दरले पुनर्निर्माण अनुदानको पहिलो किस्ता वितरण गरेको छ । काठमाडौं जिल्लामा अनुदानको पहिलो किस्ताबापतको रकम वितरण गर्ने क्रम सुरु भएको छ । काठमाडौं जिल्लामा १ लाख १५ हजार ८ सय घर सर्वेक्षण भएका छन् । जसमध्ये ३९ हजार ९ सय ४० लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यस्तै, ललितपुरमा १२ हजार ४ सय ७९ र भक्तपुरमा १७ हजार ७ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । भूकम्पबाट अतिप्रभावित भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा अनुदान प्रक्रिया अगाडि बढे पनि भूकम्पबाट प्रभावित १७ जिल्लामा सर्वेक्षणको कामसमेत पूरा हुन सकेको छैन् । यसैबीच, केन्द्रीय तथ्यांक विभागबाट भूकम्प कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको कार्य गर्न १७ जिल्लाका समन्वयकर्ताहरू र सोसँग सम्बन्धित तथ्यांक सहायकहरूलाई अभिमुखीकरण तालिम सुरु गरेको छ ।
भूकम्पबाट कम प्रभावित धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जामा अभिमुखीकरण कार्यक्रम भए पनि चितवन, नवलपरासी, अर्घाखाँची, गुल्मी र पाल्पा भने अभिमुखीकरण कार्यक्रमसमेत हुन सकेको छैन । यी जिल्लाबाट भूकम्पबाट क्षति पुगेका घरहरूको यकिन विवरणसमेत आएको छैन । प्रारम्भिक चरणमा आएको तथ्यांकभन्दा पछिल्लो समयमा सुरु सर्वेक्षणमा भूकम्पबाट भत्किएका घरहरू बढेका छन् । चितवनमा पछिल्लोपटक गरिएको सर्वेक्षणमा ६ सय १ जना भूकम्पपीडित थपिएका छन् । यसअघि प्रारम्भिक लगत संकलनमा १५ हजार ७ सय ४९ रहेकोमा गत मंसिरमा भएको सर्वेक्षणमा १६ हजार ३ सय ५५ पुगेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार मंसिर मसान्तसम्ममा सिन्धुपाल्चोकमा ७४ हजार ८ सय ४५, रामेछापमा ३९ हजार ७ सय ५९, ओखलढुंगामा १७ हजार ८ सय ३६, गोरखामा ५२ हजार ३ सय ४३ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ । त्यस्तै काभ्रेमा ५९ हजार ७ सय ५१, दोलखामा ४५ हजार ३ सय ३२, नुवाकोटमा ५३ हजार ३ सय ५७, सिन्धुलीमा २६ हजार ६ सय १२, धादिङमा ५२ हजार ९ सय १७, रसुवामा ८ हजार ३ सय १७ र मकवानपुरमा २६ हजार ९ सय ९ घरधनीको बैंक खातामा अनुदान रकम जम्मा भएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा ५ लाख ३३ हजार ३ सय ३७ घरधनीसँग अनुदान सम्झौता भएको छ ।
यसैबीच, सरकारले पहिलो किस्ता पाइसकेको भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको १ लाख ५० हजार अनुदान दिन रकम निकासा गरेको छ । आइतबार अर्थमन्त्रीस्तरीय निर्णयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको परिमार्जित कार्यविधिलाई स्वीकृति दिएको छ । योसँगै अब अनुदानबापतको दोस्रो किस्ता वितरण गर्ने बाटो खुलेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । परिमार्जित कार्यविधिमा अर्थ मन्त्रालयको सहमतिपछि स्वीकृतिका लागि प्रधानमन्त्री कार्यालयमा पठाइएको उनले बताए । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि निजी आवास पुनर्निर्माणका लागि उपलब्ध गराइने दोस्रो किस्ताको भुक्तानी, गुनासो प्रणालीमा आएका गुनासाहरूको विश्लेषणसहितको परिणाम सार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुने थपलियाले बताए । त्यस्तै, प्राधिकरणले पुनर्निर्माण कार्यमा खटिएका प्राविधिक तथा अन्य कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने तयारी गरेको छ ।
अर्थ मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई थप २८ अर्ब रकम गत मंसिर २० गते निकासा गरेको थियो । त्यस्तै, भूकम्पप्रभावित जिल्लाहरूमा विद्यालय भवन पुनर्निर्माणका लागि ४ अर्ब रुपैयाँको सीमामा रही विद्यालय पुनर्निर्माण कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको प्रवक्ता थपलियाले जानकारी दिए । सरकारी भवनहरू निर्माण गर्न थप ७५ करोड रुपैयाँ र जग्गा मुआब्जा वितरण गर्न २५ करोड गरी नेपाल सरकार स्रोततर्फको थप १ अर्बको पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्नसमेत अर्थ मन्त्रालयले प्राधिकरणलाई अनुमति दिएको छ ।राजधानी दैनिकमा खबर छ ।
प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार ०७:२५