पाल्पा, ४ पुस । जिल्लाको सुदूरपश्चिम क्षेत्रमा रहेको बल्ढेङगढी प्रहरीचौकीमा सवारीसाधन अभावमा शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई हम्मे परेको छ ।
चौकीको कार्य क्षेत्र धेरै भए पनि सवारीसाधन अभावमा प्रहरीहरू दुर्घटना स्थलमा पुग्न घण्टौँ पैदल हिँड्न बाध्य छन् । उत्तरतिर रुपन्देहीको सालझण्डीसम्म जोडिएको बल्ढेङगढी गाविस, पूर्वमा छहरासम्म जोडिएको जुठा गाविस, पश्चिममा अर्घाखाँचीसँग जोडिएको सत्यवती गाविस कार्यक्षेत्र भएको यस चौकीको सवारीसाधनका रुपमा मोटरसाइकलसमेत नहुँदा तुरुन्त उद्धार गर्नुपर्ने घटना भए घटनास्थल पुग्न समस्या परेको छ ।

ढोरपाटन सालझन्डी खण्डको केही भागसमेत पर्ने सत्यवती गाविस, सालझन्डी तानसेन खण्ड, सालझन्डी पोखराथोक अर्घाखाँची खण्डसमेत यो चौकीको कार्यक्षेत्रभित्र पर्छ । सबै गाविस र गाउँमा मोटरबाटो पुगे पनि प्रहरीहरू पैदल गस्ती गर्न बाध्य छन् ।
पर्यटकीय तथा ऐतिहासिक क्षेत्र बलिहाङगढी दरबारसमेत यसै क्षेत्रमा पर्ने गरेकाले पनि त्यहाँ पुग्ने स्वदेशी, विदेशी पर्यटक, सरकारी निकायका व्यक्तित्वका सुरक्षामा खटिनसमेत प्रहरीलाई समस्या रहेको बल्ढेङगढी गाविसका सचिव हुमबहादुर कुँवरले बताए ।
गाविस सचिव कुँवर भन्छन्, ‘सवारीसाधनमा आउने सरकारी निकायका व्यक्तित्वहरू, विभिन्न क्षेत्रका विशेषज्ञहरू बलिहाङगढी दरबार क्षेत्र अवलोकन गर्न सरर्र पुग्दा प्रहरीहरू पैदल हस्याङ र फस्याङ गर्दै पछिपछि दर्गुन परेको छ ।’ मोटरसाइकलै भए पनि चौकीलाई आवश्यक भएको स्थानीय नेता लेखबहादुर कार्की बताउँछन् ।
अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले प्रहरी चौकीहरूमा सवारीसाधनको समस्या थपिँदै गएको बताउँछन् । यहाँ पनि मोटरसाइकल उपलब्ध गराउनका लागि तयारी गरिरहेको उनी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हरि वाग्लेले जिल्लाको संवेदनशील क्षेत्रको चौकी बल्ढेङगढी भएको आफूलाई जानकारी भए पनि सवारीसाधन उपलब्ध गराउन नसकेको स्विकारे ।
– कमल रायमाझी
प्रकाशित मिति: ४ पुष २०७३, सोमबार १०:४२