धनगढी, ४ पुस । कैलाली जिल्लामा सरकारको अनुदान रकमबाट जग्गा खरिद गरेर हालै थप ५० मुक्तकमैया परिवार पुनःस्थापित भएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा बस्दै आएका यी ५० परिवारलाई जग्गा खरिद, घर निर्माण र त्यसका लागि चाहिने काठका लागि प्रतिपरिवार रु तीन लाख ५५ हजार उपलब्ध गराएर पुनःस्थापित गराइएको मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिव एवम् भूमिसुधार अधिकारी लक्ष्मण कठायतले बताए ।
यस वर्ष जिल्लामा एक हजार ३०० मुक्तकमैया परिवारको पुनःस्थापना गर्ने प्रयोजनका लागि झन्डै रु ३७ करोड रकम निकासा भएको बताइएको छ । प्रति परिवारलाई जग्गा खरिद गर्न रु दुई लाख, घर निर्माणका लागि रु एक लाख र चाहिने काठका लागि रु ५० हजार समेत जम्मा रु तीन लाख ५० हजार अनुदान रकम उपलब्ध गराएर पुनःस्थापित गराउने गरिएको छ ।
कैलाली जिल्लामा एक हजार २९ मुक्तकमैया परिवारको अझै पुनःस्थापना हुन बाँकी रहेको छ । जग्गा खरिद गरेर तथा सरकारी एलानी पर्ती जग्गा सित्तैमा उपलब्ध गराएर मुक्तकमैयालाई पुनःस्थापित गर्ने गरिएको छ ।
सहजरुपमा एलानी पर्ती जग्गा प्राप्त हुन नसक्नुलगायतका कारण १६ वर्ष अघि आरम्भ गरिएको पुनःस्थापनाको काम अझै पूरा हुन नसकेको जिल्ला भूमिसुधार अधिकारी कठायतले बताए ।
यो अवधिमा जिल्लामा पहिचान भएका आठ हजार ९१० परिवारमध्ये झन्डै सात हजार ५०० परिवारलाई पुनःस्थापित गराइसकिएको छ । विसं २०५७ साउनमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लामा व्याप्त रहेको कमैया प्रथालाई सरकारले अवैध घोषणा गर्दै सबै कमैयालाई मुक्त गरेको थियो । रासस