तम्घास, ३ पुस । गुल्मी सदरमुकाम तम्घास १९ दिनदेखि बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।
सरकारले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहित ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा भएको आन्दोलनबाट तम्घास अस्तव्यस्त बनेको हो ।
तम्घसका बजार, यातायात सबै ठप्प भएका छन् । यसबाट सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । यस्तै यहाँका प्रमुख सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ । तालाबन्दीका कारण सर्वसाधारणले सरकारी सेवा पनि पाउन सकेका छैनन् । जिल्ला प्रशासन, जिविस, मालपोत, नापी, विद्युतलगायत कार्यालयमा काम नहुँदा कर्मचारी पनि दिनभर खाली बसेर घर फर्किने दैनिकी बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति सुरक्षाका लागि साबिकभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ । आन्दोलनको जिल्लामा रहेका ११ दल तथा विभिन्न निकायले समर्थन जनाएका छन् । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नगरेसम्म विरोधका कार्यक्रम जारी रहने संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।