बेनी, १ पुस । म्याग्दीको बेनीबजारमा मापदण्ड विपरित प्रक्रिया नपु¥याइ सञ्चालनमा रहेका दुईवटा डेन्टलकेयर र एक प्रयोगशालामा सिलबन्दी गरिएको छ ।
आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले गरिएको बजार अनुगमनका क्रममा बेनीको हुलाकचोकस्थित सञ्चालनमा रहेका निलगिरि र युगल डेन्टल केयरले प्रक्रिया नपु¥याई सञ्चालन गरेको देखिएकाले ती दुबैलाई सिलबन्दी गरिएको विभागका निर्देशक निरज पौडेलले जानकारी दिए ।
त्यस्तै दश बर्षदेखि इजाजत पत्रबिना नै सञ्चालनमा रहेका स्थानीय न्युरोडस्थित आरके प्याथोलोजीलाई पनि सिलबन्दी गराइएको उनले बताए ।
‘विगतमा गरिएको बजार अनु्गमनका क्रममा दिइएको सुझाव कार्यान्वयन भएका छैनन्, मनपरी सेवा सञ्चालन भइरहेका अन्य औषधि पसललाई समेत कानुनी दायरामा ल्याउनेछौँ, जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत नारायण चौधरीले भने— “अनुगमनका क्रममा सेवा सञ्चालन अनमतिपत्र लिने बेलामा बिरामीलाई उपलब्ध गराउने छुटसहित मासिक, चौमासिक तथा वार्षिक विवरण जिल्ला जनस्वास्थ्य र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा उपलब्ध गराउनु्पर्ने प्रावधान समेत कार्यान्वन नगरेको पाइएको छ ।”
डेन्टल सेवामा आवश्यकपर्ने पूर्वाधार तथा प्रक्रिया, सेवाको विवरण, मूल्यसूची लगायतका विवरण समेत अनुगमका क्रममा नभेटिएको अनुगमन टोलीका सदस्य एवम् जिल्ला प्रशासन कार्यालयका नवीन सुवेदीले बताए ।
तीनवटा औषधि पसल र प्रयोगशालामा गरिएको अनुगमनमा ती सबै कानुन विपरित र मापदण्ड अपुग भएको फेला परेपछि बजारमा रहेका अन्य औषधि पसललाई समेत एक हप्ताभित्र कानुनी प्रक्रियामा ल्याउन आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागका निर्देशक पौडेलले निर्देशन दिए । रासस