खबरइरा टिप्पणी
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सम्पत्ति विहिन हुन् भन्ने कुरामा कसैलाई शंका थिएन । उनी आफ्नो गृह जिल्ला जाँदा भाइको घरमा बस्थे भने काठमाडौंमा भाञ्जाको घरमा । पार्टी सभापति भएपछि उनी भाडाको घरमा बस्थे ।
प्रधानमन्त्री हुँदा सरकारी निवासमा बसेका उनी त्यसपछि भतिजाको घरमा बसे र त्यही उनको निधन भयो । उनी प्रधानमन्त्री भएपछि बिबिसि हिन्दी सेवाको अनलाइन संस्करणमा समाचार लेखिएको थियो, ‘बहाल मे रहने वाले नेपालके प्रधानमन्त्री बनें’ । सुशील कोइरालाका सन्दर्भमा यति कुरा सबैलाई थाहा छ र यसमा कसैको अन्यथा थिएन र छैन । तर, पनि उनी प्रधानमन्त्री हुँदा उनले सार्वजनिक गरेको विवरण हेर्दा धेरैलाई पत्यार लागेन । ‘त्यति मात्रै होला त ?’ धेरैको यस्तो प्रतिक्रिया सुनिएको थियो ।
अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण सार्वजनिक भएपछि सुशील’दाको सम्पत्ति विवरण सार्वजनिक हुँदा व्यक्त भएका जिज्ञासाहरुको स्मरण भएको छ । प्रचण्ड धनाड्य हुन् भन्न खोजिएको पनि हैन । तर, सुशील कोइरालाको सादगी जीवन र प्रचण्डको विलासी जीवनलाई नजिकबाट नियालीरहेका नेपाली जनताले प्रचण्डको विवरणमा विश्वास गर्लान् त ? सुशीलको विवरणपछि जिज्ञासा राख्नेहरुले प्रचण्डको विवरणलाई सहजै लेलान् त ?
सम्पत्तिसँग जोडिएर प्रचण्डको नाम धेरैपटक चर्चामा आएको छ । उनी मात्र हैन, उनका परिवारका सदस्यहरुको विलासी जीवनशैली घाम झै छर्लङ्ग छ । युद्धमा बन्दुक बोकेर हिडेका उनकै कार्यकर्ताहरुलाई पचाउन नसक्ने गरी देशका नव धनाड्यहरुसँगको उनको सामिप्यता देखिएको छ । उनी बसेको सुविधा सम्पन्न घर जस्को नाममा भएपनि उनकै हो भन्ने कुरामा उनकै कार्यकर्ताहरु विश्वस्त देखिन्छन् । एसियाकै धनी नेताहरुको सूचीमा उनको नाम पर्छ भन्ने चर्चाहरु पनि सुनिएका हुन् । त्यही व्यक्ति नै प्रधानमन्त्री भएर सम्पत्ति सार्वजनिक गर्दा तिन तोला सुन र एक कठ्ठा जमिन मात्र ?
उनको सम्पत्ति धेरै छ भन्ने दावी गर्ने कानूनी आधार नभेटिएलान् । तर कानुन भन्दा ठूलो सामाजिक विश्वास हो । उनको सम्पत्ति विवरण समाजले पत्याउन सकेन, यो सत्य हो । साच्चिकै उनको सम्पत्ति त्यतिमात्रै हो भने अब उनले आफ्नो र परिवारको दैनिकी कसरी चलिरहेको छ भन्ने कुरा पारदर्शी रुपमा देखाएर जनताको मन बुझाउन सक्नु पर्छ । तिन तोला सुन र एक कठ्ठा जमिनले प्रचण्डको परिवार पाल्ने स्रोत जुटाउन सक्दैन । उनको जीवन अपारदर्शी रुपमा चलिरहेको तथ्यलाई उनको सम्पत्ति विवरणले पुष्टि गरिदिएको छ । अबका तीन महिना उनको मासिक आम्दानीको स्रोत र खर्चको विवरण सार्वजनिक गर्न उनी तयार हुन सक्छन् ? यसलाई व्यक्तिगत कुरा वा गोपनियताको कुरा भनिएला । तर, सार्वजनिक पद धारण गरेको नेताको आय स्रोत प्रति शंका लाग्यो भने त्यो जान्न पाउने हक नागरिकसँग सुरक्षित छ । त्यतिमात्रै हैन, उनको सम्पत्ति विवरणमा यती ठूलो अविश्वास पैदा भैसकेपछि उनले त्यसको बचाउ गर्न पनि कम्तिमा तीन महिनाको आय व्यय देखाउन सक्नुपर्छ ।
सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुका पछाडि एउटा कारण छ, त्यो हो, पदबाट बाहिर हुँदा उसको सम्पत्ति कति भयो ? पदमा बसेर भ्रष्टाचार गर्यो कि गरेन भनेर जाच्ने आधार निर्माण हुन्छ । त्यसैले आफ्नो नाममा भएको मात्र हैन परिवार र नजिकको आफन्तको नाममा भएको सम्पत्ति पनि हेर्ने गरिन्छ । यो कुरालाई पनि छलेर आफुलाई गरिब देखाउन सम्पत्ति लुकाउन थाल्ने हो भने किन सम्पत्ति सार्वजनिक गर्नुपर्यो ?
प्रचण्ड नेपाली राजनीतिका यस्ता नेता हुन्, जो सधैं लोकप्रिय हुने चाहनाका साथ उभिएका हुन्छन् । उनको यही लोकप्रिय हुने चाहनाले नेपाली राजनीतिकै सबैभन्दा बढी अविश्वसनीय नेता बन्दै गैरहेका पनि छन् । त्यही श्रृङ्खलाको एउटा चरणका रुपमा सम्पत्ति विवरणको सन्दर्भ जोडिएर आएको छ । सर्वहाराको नेता झै आफूलाई प्रस्तुत गरी त्यो वर्गको विश्वास जित्ने र लोकप्रिय बन्ने उनको चाहना पूर्ण रुपमा अविश्वासमा परिणत भएको छ । ‘अकुत सम्पत्ति कमाउने, महिनाको लाखौं खर्च गर्नुपर्ने जीवनशैली अबलम्बन गर्ने अनी सम्पत्ति छैन भन्ने कुरा कसरी मिल्छ कामरेड ?’ सामाजिक सञ्जालमा प्रचण्डको बचाउ गर्दै स्टाटस लेख्ने उनकै कार्यकर्ताहरुको मन भित्र यस्तो जिज्ञासा प्रवल रुपमा उठिरहेको छ र अनौपचारिक कुराकानीमा उनीहरुले दिग्दारी व्यक्त पनि गरिरहेका छन् ।
फेरि पनि प्रचण्डलाई मौका छ, आफ्नो तीन महिनाको आम्दानी र परिवार भित्रको मात्र खर्चको विवरण सार्वजनिक गरी उनले आफु प्रतिको जाग्दो अविश्वासलाई मत्थर पारुन् ।
प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार १३:३१