काठमाडौ १ पुस । सरकारले मध्य तराईका पाँच जिल्लामा वर्षैंभरि सिँचाइ सुविधा पुर्याउन सुनकोसीको पानी वाग्मती नदीमा खसाल्ने आयोजनालाई अघि बढाएको छ । सिँचाइ मन्त्रालयको प्रस्तावित उक्त आयोजनाले यस आर्थिक वर्षबाट औपचरिकता पाएको छ । सुनकोसीको पानी सिन्धुलीको मरिन खोलामा झारेर सर्लाहीस्थित वाग्मती नदीमा पुर्याउने मन्त्रालयले सारेको पछिल्लो महत्त्वाकांक्षी बहुउद्देश्यीय आयोजना हो ।
मन्त्रालयले सुनकोसी–मरिन–वाग्मती आयोजनाको छुट्टै कार्यालय खोलेर त्यसको काम अघि बढाएको छ । सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट छुट्याएपछि त्यस आयोजनालाई संस्थागत रूपमा अघि बढाउन कार्यालय स्थापना गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव सागरकुमार राईले बताए । ‘आयोजनाको कार्यालय स्थापना र जनशक्तिको दरबन्दी स्वीकृत भइसकेको छ,’ उनले भने, ‘अब आयोजनासम्बन्धी सम्पूर्ण काममा उक्त कार्यालय केन्द्रित हुनेछ ।’
पूर्वसम्भाव्यता अध्ययनले सिन्धुली–रामेछाप सिमानाको खुर्कोट आसपास सुनकोसी नदीमा बाँध बनाएर पानी डाइभर्सन गरी पहाडमा सुरुङ बनाएर मरिन खोलामा झार्न सकिने देखाएको राईले बताए । १३ किलोमिटरको सुरुङमार्फत प्रतिसेकेन्ड ७७ क्युमेक ९७७ हजार लिटर० पानी ६६ मिटरमाथिबाट मरिन खोलामा खसालिने र त्यसबाट ४० मेगावाट बिजुलीसमेत निकाल्न सकिने अध्ययनले देखाएको छ ।
सिँचाइ विभागको योजना महाशाखा प्रमुख उपनिर्देशक सरोजचन्द्र पण्डितले दशकौं अगाडि देखिएको सोच कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए । उनले सुनकोसी–मरिन डाइभर्सन विभागले ल्याएको अन्तर जलाधार स्थानान्तरण आयोजनामध्येको दोस्रो रहेको जनाए । भेरीको पानी १२ किमि लामो सुरुङमार्फत बबई नदीमा खसालेर बिजुली निकाल्ने र सिँचाइ सुविधा पुर्याउने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणाधीन छ ।
सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको प्रवक्ता राईले बताए । आयोजनाको सम्पूर्ण निर्माण कामका लागि करिब ३३ अर्बको लागत अनुमान गरिएको छ । काम सुरु भएको ४ देखि ५ वर्षभित्र बनाउन सकिने अध्ययनले देखाएको राईले जानकारी दिए ।
आर्थिक वर्ष २०३५र३६ मा निर्माण काम सुरु भएको वाग्मती सिँचाइ आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । तर, पहिलो चरणका लागि राखिएको लक्ष्य ४५ हजार ६ सय हेक्टरमा पनि हालसम्म सिँचाइ सुविधा पुर्याउन सकेको छैन ।

आयोजना प्रमुख लक्ष्मणप्रसाद सिंह वाग्मती नदीमा पर्याप्त पानी नहुँदा बाह्रै महिना पानी पठाउन नसकिएको बताउँछन् । ‘प्रथम चरणको आरम्भमा पूर्व सर्लाही र पश्चिम रौतहटका ४६ हजार हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्याउन लिएको लक्ष्य करिब–करिब पूरा हुन लागेको छ,’ सिंहले भने, ‘तर, वाग्मतीकै पानीको भर परेर योभन्दा थप क्षेत्रमा सिँचाइ पुर्याउन कठिन छ । सुनकोसीको पानी आएपछि मात्र बाँकी लक्ष्य सम्भव छ ।’ वाग्मती आयोजनाका पूर्वप्रमुख रहिसकेका राजेन्द्रप्रसाद यादवले वातावरणीय विनाशले पारेको प्रभावका कारण वाग्मती नदीमा दिनदिनै पानीको बहाव कम हुँदै गएको बताए । ‘सुनकोसी–मरिन डाइभर्सन आयोजना सफल भए आर्थिक गतिवधिका हिसाबले प्रदेश नम्बर २ कै आर्थिक गतिविधि कायापलट हुनेछ,’ उनले भने ।
सिँचाइको सबैभन्दा कान्छो र ठूलो मानिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख निर्देशक मित्र बरालले प्रारम्भिक अध्ययनपछि विस्तृत सम्भाव्यता अध्ययन पनि सकिएको बताए । ‘अध्ययनको रिपोर्ट आएको छ । त्यसको थप अध्ययन र परीक्षण बाँकी छ,’ उनले भने, ‘सुरुङ र ऊर्जासँग सम्बन्धित विज्ञहरूको समेत समिति बनाएर रिपोर्टको अध्ययन गराउने तयारी भइरहेको छ ।’ उनले प्राविधिक, वातावरणीय, आर्थिक र सामाजिक सबै पक्षबाट आयोजनाको गहिरो अध्ययन बाँकी रहेको बताए ।
सरकारले छुट्याएको बजेटबाट अध्ययनको कार्यलाई प्राथमिकता दिइने तयारी छ । मन्त्रालयका प्रवक्ता राईले विदेशी विज्ञबाट पनि एकपटक अध्ययन अनुसन्धान गराउने कुरा भइरहेको जानकारी दिए ।
सर्लाहीमा वाग्मती नदीमा बनाइएको बाँध ९ब्यारेज० १ लाख २२ हजार हेक्टर क्षेत्रमै सिँचाइ सुविधा पुर्याउने हिसाबले निर्माण गरिएको छ । वाग्मती आयोजनाका प्रमुख सिंहले अहिले भइरहेका संरचनामा सामान्य ‘रिभाइज’ गरेर पुग्ने बताए । तर, थप विस्तार हुने क्षेत्रमा नहरको सम्पूर्ण संरचना निर्माण गर्नुपर्ने उनले बताएको खबर राजेश मिश्रले कान्तिपुर दैनिकमा लेखेका छन् ।
प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार ०७:३१