बाजुरा, २७ मंसिर । बडिमालिका नगरपालिका–१२ की होइजाली विक छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन (पिनिडुरा) इन्जेक्सन लगाउन औषधि बोकेरै जिल्ला स्वास्थ्य कार्यालय पुगिन् । तर, कार्यालयमा औषधि लगाउन प्रयोग हुने सिरिन्ज रहेनछ । पटुकीबाट १० रुपैयाँ झिकेर आधा घन्टा टाढाको निजी औषधि पसलबाट सिरिन्ज किनेपछि बल्ल उनका छोराको उपचार भयो ।
जिल्लाको कोटिला स्वास्थ्य चौकीमा स्लाइन सकिएको एक महिना भयो । आइतबार पखालाको उपचारका लागि आएका कोटिला स्वास्थ्य चौकी पुगेका छैटा मियाँलाई इन्चार्ज जसी विकले विनाउपचार फर्काइदिए । कोल्टी पुगेर १ सय ५० रुपैयाँ तिरेर मियाँले सलाइन किनेपछि मात्रै उनको उपचार सम्भव भयो । कोटिला स्वास्थ्य चौकीमा एक महिनादेखि सलाइनसमेत सकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको कथाव्यथा यतिमा मात्रै सकिँदैन । बिरामी बोक्न एउटा स्टे«चरसम्म पनि छैन । शनिबार बिहान सुत्केरी भएकी बडिमालिका–१२ की गीतादेवी बढुवाललाई स्टे«चर अभावमै समयमा अस्पताल पु¥याउन सकिएन । ‘दुई दिनसम्म सबै सरलाई स्ट्रेचर मिलाइदेऊ भनेर हारगुहार गरेें, स्टे«चर छैन भन्छन् । सरकारले दिने सेवा भाषण र कागजमा मात्र हुँदो रहेछ,’ गीताका पति सूर्यबहादुर बढुवाले दुखेसो पोखे । कोटिला–४ की धनसार मियाँको टाउको दुखेपछि श्रीमान्को सहायताले गाउँको स्वास्थ्य चौकीमा उपचारका लागि आएकी छन् । तर, चौकीमा औषधि नै भेटिएन । बल्ल छिमेकी गाविसको बजारमा औषधि भेटियो । उनको टाउको दुख्न केही कम भएको छ अहिले ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निःशुल्क वितरण गरिने ७० प्रकारका औषधिभित्र होइजाली विकका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि पर्छ । तर, उनले बजारबाटै किन्नुपरेको छ । उनी एक उदाहरण मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोरकिपर तेजसिंह साउदका अनुसार स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन । ‘यहाँ सिटामोल पनि छैन, ग्लोभ्स (पन्जा) नभएको त धेरै भइसक्यो, पुरानालाई धोएर काम चलाइन्छ,’ साउदले राजधानीसँग भने, ‘निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिमा गत वर्ष बचेका १०÷१२ औषधि मात्र छन्, तर ती अधिकांश प्रयोग गर्न नमिल्ने भइसकेका छन् ।’ नेपाल सरकारले जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । तर, सदरमुकामकै स्वास्थ्य केन्द्रमा समेत यी औषधि पाइँदैनन् ।
जिल्लाका ग्रामीण क्षेत्रमा औषधिको चरम अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले नियमित पठाउनुपर्ने औषधि आपूर्ति गर्न नसक्दा यो समस्या आएको हो । स्वास्थ्य संस्थामा औषधिको अभावका कारण स्थानीयवासीले सामान्य औषधिसमेत औषधि पसलमा खरिद गर्नुपर्ने बाध्यता छ । सरकारले तोकेको निःशुल्क औषधि अधिकांश समय स्वास्थ्य संस्थामा उपलब्ध हुँदैन । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीले संस्थामा औषधि नभएपछि निजी मेडिकलमा उपचारका लागि सिफारिस गर्दै आएका छन् । बाजुराका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको ६ महिना बितिसक्दा पनि सरकारी निकायले चासो दिएको छैन ।
बाजुरामा मात्र होइन, बझाङ जिल्लाको सिमाना जोडिएको डोगडी गाविसमा रहेको स्वास्थ्य चौकीमा परिवार नियोजनका साधनबाहेक अरू कुनै औषधि छैन । ‘यहाँ सुत्केरी गराउने ग्लोभ्ससमेत छैन, पुराना फालेका ग्लोभ्स धोएर सुत्केरी गराउनुपर्ने बाध्यता छ । अन्य कुनै औषधि छैन । जिल्लामा माग्या भए पो दिनु भन्छन्,’ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावतले भने । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले गत चैतदेखि गाउँमा औषधि पठाएको छैन । ‘हामीले बिरामी जाँचेर मात्र के गर्ने ? औषधि हुँदैन, लाजमर्दो कुरो, हामीसँग दुई वर्ष मुनिका बालबालिकालाई झाडापखाला लाग्दा प्रयोग हुँने जिंक चक्कीसमेत छैन,’ रावत भन्छन् । वाई स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र बुढाका अनुसार जनस्वास्थ्य कार्यालयले वर्षमा एकपटक औषधि गाउँमा वितरण गर्दै आए पनि यस वर्ष त्योसमेत प्राप्त हुन सकेको छैन । सो गाविसमा फेज नेपाल नामक संस्थाले सहयोग गरेका कारण औषधिमा भने समस्या छैन । तर, अन्य गाविसमा भने औषधि अभाव विकराल बन्दै गएको छ ।
कोटिला गाउँमा कार्यरत एचआरसी नामक गैरसरकारी संस्थाका कार्यक्रम प्रबन्धक टेकेन्द्रबहादुर सिंहका अनुसार गाउँमा हरेक वर्ष औषधि अभाव हुन्छ । तर, यस वर्ष भने सामान्य झाडापखालाको समेत औषधि छैन । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख अशोक सिंह भने औषधि नभएको विषयमा अनभिज्ञ छन् । ‘म एक दिनका लागि मात्र हाकिम हुँ । यसबारे थाहा छैन । औषधि हुनुपर्ने हो, छैन र ?’ उनी प्रतिप्रश्न गर्छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुरा कागजी तथ्यांकमा देशकै छैटौं राम्रो सेवा दिनेमा पर्छ । सरकारले एक महिना अघि मात्र बाजुरालाई स्वास्थ्य सेवा राम्रो दिने जिल्लामा छैटौं नम्बरमा राखेको हो ।राजधानी दैनिकमा खबर छ ।
प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार ०६:२१