रत्ननगर (चितवन), २३ मंसिर । कुनैपनि महत्वपूर्ण कार्य सम्पन्न गर्न आर्थिक सङ्कलनका लागि महायज्ञ लगाउने गरिन्छ ।
महायज्ञ लगाउनुको मुख्य उद्देश्य भगवानको नाममा आर्थिक सङ्कलन नै हो । तर अहिले यहाँ फरक खालको महायज्ञ लगाउने अभियान नै सुरु भएको छ । त्यो हो धातु सङ्कलन । चितवनको धार्मिक पर्यटकीय क्षेत्र देवघाटधाममा ३० फिट अग्लो शिवको मूर्ति बनाउन यहाँ धातु सङ्कलनका लागि महायज्ञ लगाउने अभियान सुरु भएको छ ।
अष्टधातुबाट निर्माण गर्न लागिएको शिवको प्रतिमाका लागि अहिलेसम्म पहिलो महायज्ञबाट दुईसय ५० किलो जति विभिन्न प्रकारका धातु सङ्कलन भएको छ । करिब पाँच टन धातु चाहिने भएकाले अहिले महायज्ञ लगाएर सङ््कलनको अभियान सुरु भएको महायज्ञ मूल आयोजक समितिका संयोजक गीतानाथ अधिकारीले बताए ।
उनका अनुसार धातु सङ्कलनका लागि देवघाट संरक्षण प्रतिष्ठानले देशका विभिन्न पाँच स्थानमा महायज्ञ गर्ने तयारीस्वरुप काम भइरहेको छ । यसअघि दाङ जिल्लामा महायज्ञ गरेर साढे दुई क्विन्टल धातु सङ्कलन गरिएको र यही पुस ४ देखि १२ गतेसम्म चितवनको रत्ननगरमा महायज्ञ गरेर धातु सङ्कलन गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाको भनाइ छ ।
उनले रत्ननगरमा सकिएपछि भण्डारा, पश्चिम चितवन र काठमाडौँमा समेत महायज्ञ गरेर धातु सङ्कलन गरिनेछ । उनले भगवान् शिवको प्रतिमा निर्माणका लागि तामा, पित्तल, ढलोट, काँच, चरेस, चाँदी, सुन जे सकिन्छ दान दिनसमेत आग्रह गरेका छन् । यहाँ गएको साउनमा उक्त प्रतिमा निर्माणका लागि प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट शिलान्याससमेत भएको छ । सबै काम सक्न रु एक करोड लाग्ने अनुमान गरिएको छ ।
देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउने यो धातुबाट निर्मित प्रतिमाले थप टेवा दिने विश्वास आयोजकको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले एकपटक आउने यस्तो कार्यमा धातु दान गरेर पुण्य कमाउन अपिल गरेमन छज् ।
रासस