काठमाडौं, १९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई प्रथम किस्ता अनुदान उपलब्ध गराउन अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निकासा दिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर १९ गतेसम्म ५ लाख ३० हजार ६ सय ४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । जसमा ४ लाख ४४ हजार ४४ हजार ४ सय ६२ घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा भइसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा व्यक्त गरेको प्रतिबद्धता र गत असोज १० गते बसेको निर्देशक समितिको बैठकको निर्णय अनुसार भूकम्प पीडित जनतालाई तीन किस्तामा रु. ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
उक्त निर्णय बमोजिम कार्यकारी समितिको ३८ औं बैठकबाट निजी आवास पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलले जनाएको छ ।
उक्त निर्णय बमोजिम मस्यौदा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने तयारी भैइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्वारा आइतबार जारी प्रेस नोटमा उल्लेख छ ।
चालू आर्थिक वर्षका लागि निर्देशक समितिको बैठकबाट स्वीकृत भएको १ खर्ब ७ अर्ब बजेट मध्ये विभिन्न मन्त्रालय तथा निकायहरुका कार्यक्रम स्वीकृत गरी चालूतर्फ २९ अर्ब ७८ करोड ८ लाख ९६ हजार र पूँजीगततर्फ २२ अर्ब ६३ करोड ६० लाख ७४ हजार रुपैयाँ अख्तियारी प्रदान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार १७:४६