काठमाडौ १९ मंसिर । सरकार र अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । शिक्षा मन्त्रालयमा शनिबार राति सहमति भएसँगै डा. केसीले आज (आइतबार) आमरण अनशन तोड्नेछन् । सहमति पत्रमा बिहान साढे नौ बजे हस्ताक्षर गर्ने र अनशन तोड्ने बताइएको छ ।
सरकारी टोलीका सदस्य स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीले वार्तामा समझदारी भएको र केसी अनशन तोड्न सहमत भएको बताए । ‘डा. केसीसँग पटकपटक छलफल गरी यो सहमतिमा पुगेका हौं,’ सचिव उप्रेतीले भने, ‘अब आइतबार बिहान सहमति पत्रमा हस्ताक्षर गर्ने र अनशन तोड्ने कार्यक्रम बनेको छ ।’
वार्तामा संलग्न दुवै तर्फका वार्ता टोलीले तयार गरेको १२ बुँदे सहमति पत्रमा आइतबार हस्ताक्षर हुने वार्तामा सहभागी डा. जीवन क्षत्रीले बताएको राससले जनाएको छ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले गरेका अनियमितताका विषयमा छानबिन गर्न बनाइने समितिको समयावधिमा कुरा मिल्न नसक्दा डा. गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास शनिबार सफल हुन सकेको थिएन ।
त्रिवि उपकुलपतिको बर्खास्तीको मागमा उच्चस्तरीय न्यायिक समिति बनाउने र सोको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको छ । समितिमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षाविद् केदारभक्त माथेमालगायतको संलग्नतामा समिति गठन गर्ने र आवश्यक छानबिन गरी गल्ती देखिए कारबाही गर्ने सहमति भएको बताइएको छ । सो सहमति अनुसार मन्त्रिपरिषद् बैठकले समिति गठन गर्नेछ । वरिष्ठताका आधारमा डिन बनाउनुपर्ने केसीको माग भने पूरा भइसकेको छ ।
चिकित्सा शिक्षा सुधारका लागि भन्दै विभिन्न ९ सूत्रीय मागसहित २२ दिनदेखि केसी आमरण अनशनमा छन् । उनको समर्थनमा राजधानीमा शनिबार बृहत् प्रदर्शन गरिएको थियो । केसीको माग पूरा गराउन दबाब दिने उद्देश्यले भएको प्रदर्शनमा चिकित्सक, मेडिकल साइन्सका विद्यार्थी, सर्वसाधारण, कलाकारका साथै पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि सहभागी भएका थिए ।माइतिघरबाट सुरु भएको ¥याली बानेश्वरमा गएर सभामा परिणत भएको थियो ।
अग्रवाल डिन नियुक्त
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई आईओएमको डिनमा नियुक्त गरेको त्रिविका प्रवक्ता भोला ढकालले जानकारी दिए ।
केसीको जीवनरक्षाका लागि भन्दै आईओएमका डिन केपी सिंहले शुक्रबार राजीनामा दिएका थिए । उनलाई २८ कात्तिकमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले डिनमा नियुक्ति गरेको भए पनि अनशनरत डा. गोविन्द केसीको मागअनुसार सिंहले राजीनामा दिएका थिए ।
यसैबीच, नयाँ डिनमा प्रा.डा. जगदीश अग्रवाललाई नियुक्त गरेकोमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापकहरूले विरोध गरेका छन् । उनीहरूले प्रा.डा. अग्रवाललाई पदवहाली गर्न नदिने भन्दै डिन कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । आईओएम बचाउ संघर्ष समितिको नाममा जारी विज्ञप्तिमा त्रिवि कार्यकारी परिषद्को पूर्ण बैठकले त्रिविको नियम र कानुनसम्मत तारिकाबाट चुनिएको प्रा.डा. केपी सिंहलाई कुनै व्यक्तिको कारणले सरकारले अवैधानिक तवरबाट राजीनामा दिन बाध्य पारिएको उल्लेख छ ।राजधानी दैनिकमा खबर छ ।
प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार ०७:३०