जनकपुरधाम, १८ मंसिर । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीताराम विवाह महोत्सवको रौनकता छाएको छ ।
जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवको स्वरूप ग्रहण गरेको देखिएको छ ।
एक साता अघिदेखि नै वैवाहिक विधि सुरू भए पनि भोलि हुने वैवाहिक समारोहमा सहभागी हुन जनसागर ओर्लिसकेका छन् ।
त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा तेत्तीस कोटीदेवी देवताको उपस्थिति रहेको थियो ।
सीतालाई छोरी– बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाई लगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गर्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार सम्पन्न हुने गरेको छ ।
पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला (सिंहासन)मा राखी रङगभूमिमा पुर्याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिने चलन रहेको छ ।
रङ्गभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ ।
त्यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा अधिराज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन् ।
रङ्गभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौंँ सङ्ख्यामा सम्मिलित श्रद्धालुको उत्साहले महोत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गरेको छ ।
फूलबारी प्रशङ्गदेखि स्वयम्बरसम्मको आयोजनाले महोत्सव देवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दे सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् ।
महोत्सवका दिन श्रद्धालु बिहान सबैरेदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गर्ने चलन रहेको छ । रासस