काठमाडौं, १७ मंसिर । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन प्रा.डा. केपी सिंहले राजीनामा दिन नमानेपछि केसीले अनशन जारी राखेका छन् । नवनियुक्त डिन सिंहलाई हटाउनुपर्ने डा. केसीको प्रमुख माग छ ।
शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार डिन सिंहलाई राजीनामा गराउने प्रयास गरेका थिए । यसका लागि शिक्षा मन्त्रालयमा त्रिवि पदाधिकारीसहित राति ११ बजेसम्म छलफल गरे पनि कुनै निर्णय हुन सकेन । कानुनअनुसार बर्खास्त गर्न नमिल्ने देखेपछि डिन सिंहको राजीनामा गराएर डा. केसीको जीवनरक्षा गर्ने प्रयास मन्त्रीहरूको थियो । स्रोतका अनुसार दुवै मन्त्रीले डिन सिंहलाई राजीनामा दिन आग्रह गरेका थिए ।
तर, सिंहले आफूले आइओएमका फ्याकल्टीहरूसँग छलफल गर्नुपर्ने र आफ्नो राजीनामाले समस्या समाधान हुनेमा शंका व्यक्त गरेका थिए । डा. केसी पक्षले बुधबारको छलफलमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. रमेशकान्त अधिकारी संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले बनाएको मापदण्ड कार्यान्वयन गर्न कुलपति तथा सहकुलपतिको प्रतिबद्धता खोजेका थिए ।
समितिले बिहीबार डिन नियुक्तिको मापदण्डबारे उपकुलपतिलाई प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदन अध्ययन गर्न र फ्याकल्टीसँग छलफल गर्न पाउनुपर्ने अडान राखेर डा. सिंहले राजीनामा दिन मानेका थिएनन् । शिक्षा मन्त्रालयमा त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, डिन सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक दीपक महराबीच छुट्टै छलफलसमेत भएको थियो ।
सरकारी वार्ताटोलीका सदस्य शिक्षासचिव शान्तबहादुर श्रेष्ठले बिहीबारको वार्ता निष्कर्षविहीन भएको बताए । उनले भने, ‘वार्ता प्रगतिनजिक पुगेको छ, एक नम्बरको मागमै सबै कुरा टुंगिएको छैन ।’ विभिन्न नौवटा माग राखेर डा. केसी १९ दिनदेखि आमरण अनशनमा छन् । केसीले नवनियुक्त डिन प्रा.डा. केपी सिंहलाई हटाइनुपर्ने र वरिष्ठताका आधारमा प्रा.डा. जगदीश अग्रवाललाई नियुक्ति गरिनुपर्ने माग राखेका छन् । उनले उपकुलपतिसमेतको बर्खास्त गर्न माग गरेका छन् ।
सिंहको राजीनामासँगै पूर्वडिन अधिकारीको रिपोर्ट कार्यान्वयन गर्ने प्रतिबद्धता आए अनशन तोड्न वार्ताटोली सकारात्मक भएको छ । डा. केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै उनको जीवन रक्षाको मागसहित त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आकस्मिकबाहेकका सेवामा सहभागी भएका छैनन् । तर, विशेषज्ञ चिकित्सकले बिरामीको उपचार गर्दै आएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार ०६:२५