भीमदत्तनगर, १६ मंसिर। छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किए ।
अन्ठाउन्न प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा कृषि पेसामा व्यावसायिक रुपमा लागेर सफलतातिर लम्किँदै गइरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका बोहरा अहिले दूध बिक्रीबाट मासिक रु ७० हजार कमाउन थालेका छन् ।
उनले भैँसीपालन, केराखेती, बाख्रापालन, माछापालन र आँपखेती गरिरहेका छन् । बोहराले दुई बिगाहा खेतमा केराखेती, १५ कठ्ठामा माछापालन, १४ वटा भैँसी, आठ वटा बाख्रा तथा आँपखेती गरिरहेका छन् । “मेहनत गरे विदेशको कमाइ घरमै गर्न सकिँदोरहेछ,” उनले भने । उनले दैनिक ६० लिटर दूध बिक्री गर्दै अाएका छन् ।
बोहराले दुग्ध विकास संस्थानमा दैनिक ६० लिटर दूध पुर्याउँदै आएका छन् । “मेरो व्यवसायलाई घर परिवारका सदस्यले पनि साथ दिँदै आउनुभएको छ,” उनले भने । उनले सुरुवातमा रु ४० लाख लगानी गरेका हुन् ।
कुखुरापालन र बाख्रापालनमा लगानी बढाउने उनको योजना छ । प्रवीणता प्रमाणपत्र तहसम्म स्थानीय कृषि उच्च मावि तथा स्नातक तहको अध्ययन धनगढीको कैलाली बहुमुखी क्याम्पसमा गरेका बोहराले अध्ययनका क्रममा आर्थिक अभाव झेल्नुपरेको थियो ।
“पढेलेखेको छोरो राम्रै जागिरतिर लाग्ला भन्ने परिवारको सोच थियो होला,” उनले भने– “हामी किसानका छोरा हाैँ कृषिमै केही गर्नुपर्छ भन्ने लागेर व्यवसायमा हात हालेको हँु ।” उनले भैँसीको गोबर सोर्नेदेखि दैनिक अत्तरिया बजारसम्म दूध बिक्री गर्ने कार्य आफैले गर्दै आएका छन् । “व्यवसायको दायरा बढाउँदै अन्य युवालाई रोजगारी दिने सोच समेत बनाएको छु,” बोहराले भने ।
अहिले उनले वार्षिक रु आठ लाखसम्म आम्दानी गरिरहेका छन् । “अरुको नौकरी गर्नुभन्दा आफ्नै व्यवसाय अङ्गाल्नु राम्रो,” उनले भने । दुग्ध विकास संस्थानका कारण दूध बिक्री गर्न समस्या नभएको उनको भनाइ छ । रासस