टोकियो, १६ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेशका नेताहरुको भन्दा तराई मधेशका जनताको भावनालाई मुख्य राजनीतिक पार्टीहरुले बुझन् जरुरी रहेको बताएका छन् । उनले संविधान संशोधन र स्थानीय तहको निर्वाचन गराउनका लागि द्वन्द्व नभई विपक्षी दल नेकपा एमालेलाई पनि सँगै लिएर जानुपर्ने बताए ।
जापान भ्रमणमा रहेका वरिष्ठ नेता पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीय जनताको भावना बुझेर सीमाङकनको बिषय टुंगो लगाउनुपर्ने स्पष्ट पारे । उनले भने–‘प्रदेशको सीमाङकन हेरफेर गर्दा पनि र स्थानीय तहको सीमाना तय गर्दा पनि स्थानीयको भावनाको कदर गर्नुपर्छ अन्यथा समस्या आउँछ ।’
वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको भन्दै सवैले संविधान संशोधनमा सहयोग गनुपर्ने धारणा राखे । उनले संविधान जारी गर्ने बेलामा कांग्रेस एमाले र माओवादीका नेताहरुले संसदको रोष्टममा उभिएर संविधान संशोधनको प्रतिबद्धता जनाएको भन्दै संशोधनका लागि तीनै पार्टी एक ठाँउमा आउन जरुरी रहेको स्पष्ट पारे ।
वरिष्ठ नेता पौडेलले लोकतन्त्र भनेको सबै नागरिक सम्मानित ढंगले बाँच्न पाउने व्यवस्था भएकाले समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेको बताउँदै भने–‘मधेशी जनतामा उग्र भावना छैन, तर लोकतन्त्रमा सवै सम्मानित हुनुपर्छ । त्यसकारण हामीले समावेशीताको सुनिश्चित गर्न आवश्यक छ ।’
वरिष्ठ नेता पौडेलले साँघुरो विचार र कमजोर मानसिकताले नेपालमा केहि गर्न नसकिने भन्दै नेपाल विविधता बीचको एकताको देश भएकाले मधेशी जनतामा आफुहरु हेपिएको भन्ने भावनाको अन्त्य गर्न जरुरी रहेको बताए । उनले मधेशी विगतको शासन व्यवस्थामा हेपिएको बताउँदै लोकतन्त्रको स्थापनापछि क्रमश हट्न थालेको स्पष्ट पारे ।
वरिष्ठ नेता पौडेलले नेपालको राष्ट्रियताका बारेमा धेरै पहिले देखि नै थरिथरि कुरा हुने गरेको भन्दै अति राजनीति र अतिवादी राष्ट्रियताले मुलुकको उन्नति संभव नुहने धारणा राखे । कार्यक्रममा नेकपा एमालेका नेता किरण गुरुङ, नेपाली कांग्रेसका नेता एंव सांसद राजन केसी, एमाले नेता राजन राईको पनि सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार १३:३१