टोकियो, १५ मंसिर । जापान सरकारको निमन्त्रणामा एकसाता लामो जापान भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका छन् । वरिष्ठ नेता पौडेलले जापान सरकारका मन्त्रीहरु तथा जापानको संसदीय टोलीसंग भेटवार्ता गरेका हुन् ।
वरिष्ठ नेता पौडेले जापानका विदेश राज्यमन्त्री नोबु किसी, स्वास्थ्य श्रम तथा जनकल्याण मन्त्री गाकु हामीमोतो, तथा जापानको संसदका पर्यटन पूर्वाधार भूमि सम्बन्धी समितिका उपमन्त्री यसुतादा ओनो तथा नेपाल जापान पार्लिमेन्ट समितिका अध्यक्ष एंव लिबरल डेमोक्रेटिक पार्टीका महासचिव तोसिहिरो निकीसंग भेटवार्ता गरेका छन् ।
सरकारी तथा संसदीय टोलीसँग भएको छलफलमा नेपालमा कृषिलाई आधुनिकीकरण गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । वरिष्ठ नेता पौडेलका सहयोगी चिरन्जीवी अधिकारका अनुसार जापानी अधिकारीहरुले नेपालको कृषिलाई आधुनिकीकरण गर्नका लागि प्राविधिक सहयोग गर्न जापान सरकार तयार रहेको र नेपालले त्यस किसिमको वातावरण बनाउनुपर्ने बताएका थिए ।
उनीहरुले नेपालका विषेशज्ञलाई कृषिको आधुनिकीकरणका लागि तालिमका लागि छिट्टै मगाउने तयारीमा जापान रहेको बरिष्ठ नेता पौडेललाई जानकारी गराएका थिए । जापान नेपालको सधै हितैषी भएको भन्दै उनीहरुले नेपालको विकासका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बचन दिएका थिए ।
भेटमा वरिष्ठ नेता पौडेलले नेपालको संविधान प्रति असंतुष्ट पक्षका मागलाई सम्बोधन गर्नका लागि संविधान संसोधन प्रस्ताव संसदमा दर्ता भएकाले अब नेपालमा विकास र लगानीको वातावरण बन्ने विश्वास दिलाएको उनका सहयोगी अधिकारीले जानकारी दिए । उनले नेपाल जापानको सदीयौ देखिको धनिष्ठ मित्र भएको उल्लेख गर्दैै सयबर्ष अगाडि देखि नेपालले जापानको सहयोग र सदभाव रहेकोमा आभार व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले नेपालको कृषि स्वास्थ्य र जलबिद्युतका जापानको लगानीको नेपालले अपेक्षा राखेको बताएका थिए । यी क्षेत्रमा जापानले लगानी गरेका नेपाल वातावरण बनाउनका लागि तयार रहेको विश्वास समेत पौडेलले दिलाएका थिए ।
वरिष्ठ नेता पौडेलसँगको भेटमा जापानी विदेशमन्त्री नेपालका जापानी पर्यटनहरु पनि जाने भएकाले जापान सरकार पर्यटनको क्षेत्रमा समेत लागनी गर्न तयार रहेको बचन दिएका थिए । लिबरल डेमोक्रेटिक पार्टीका महासचिव तोसिहिरो निकीले नेपाललाई जलबिद्युतमा लगानी बढाएर पानीको व्यापार गर्न सुझाव दिएका थिए ।
यसका साथै जापानले भूकम्पपछिको पुनर्निर्माण र उद्धारका समयमा जापान सरकारले गरेको सहयोगको कांग्रेस वरिष्ठ नेता पौडेलले सरहाना गरेका थिए । नेपालमा प्राकृतिक प्रकोपका कारण ठुलो क्षति हुने गरेको स्मरण गराउदै वरिष्ठ नेता पौडेलले प्राकृतिक विपत्तिको क्षति कम गर्नका लागि जापान सरकारले सहयोग गर्नेमा आफु आशावादी भएको बताएका थिए ।
जापानी विदेश राज्यमन्त्री नोबुले जापानमा संविधान बनेको ६९ बर्ष भइसकेको स्मरण गर्दै संविधानसभाबा नेपालमा संविधान बनेकोमा खुशी व्यक्त गरेका थिए । उनले नेपालमा भुकम्पपछिको पुर्ननिर्माणमा भएको ढिलाई प्रति चासो व्यक्त गर्दै पुनर्निर्माणको काम छिटो अगाडि बढाउन सुझाव दिएका थिए ।
वरिष्ठ नेता पौडेलले जापानमा हुन लागेको ओलम्पिकमा नेपाली कामदार पठाउन नेपाल तयार रहेको बताएका थिए । जापानी श्रममन्त्रीले आफुहरु प्रशिक्षित कामदार ल्याउनका लागि तयार रहेको स्पष्ट पारेका थिए । यसका साथै वरिष्ठ नेता पौडेलले नेपाल र जापानबीचको व्यापारलाई प्रोत्साहन गर्नका लागि आग्रह गरेका थिए ।
प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार १४:२५