सुर्खेत, १४ मंसिर । पछिल्लो समयमा सुर्खेतबाट बैदेशिक रोजगारका लागि तेस्रो मुलुक जानेको संख्या बढेको छ । स्वदेशमा भने जस्तो रोजगार नपाउने भएको हुँदा वर्षेनी विदेशीने युवाहरु संख्या बढ्न थालेको हो ।
स्वदेशका पौरखी हातहरु वेरोजगार हुन थालेपछि विदेश पलायन हुनु परेको राहदानी बनाउन आएका भेरीगंगा नगरपालिका–३ जहरेका डिलबहादुर बोहोराले बताए । सरकारले स्वरोजगारका लागि अवसरहरु नदिएपछि विदेशमा गइ केही पैसा कमाएर स्वदेशमै काम गर्ने उद्देश्य रहेको उनले बताए ।
आफ्नै देशमा व्यवसाय गर्न आवश्यक पर्ने लगानी विदेशमा गएर कमाई ल्याउने र त्यही रकमले व्यवसाय गर्ने उनको भनाई छ । बैदेशिक रोजगारीका लागि राहदानी बनाउन आएका बोहोराले अहिले आफुले खेती किसानी गर्दै आएको बताए ।
बर्षभरीको खेतीपातीले छाक टार्नसमेत धौ–धौ हुने भएकाले बाध्य भएर खाडीमुलक जानुपर्ने उनको भनाई छ । खाडी मुलुक जानको लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आएका उनले भने ‘खेती गरेर मात्रै पुग्ने भए विदेश किन जानु पर्थ्याे ।’
खेतीपातीले घरपरिवारको गुजारा गर्न ठिक्क हुने र अन्य व्यवसाय गर्न आवश्यक लगानी आफुहरुले नसक्ने भएकाले विदेश जान लागेको डिलबहादुरले बताए । उनले बालबच्चाको उज्वल भविष्यकालागि भएपनि एक पटक विदेश जानै पर्ने भएकाले राहदानी बनाउन आएको बताए।
यसैगरी शुभाघाट गंगामाला नगरपालिका–१४ का रोनित थापा आफुले एच.ए अध्ययन पुरा गरेपनि स्वदेशमा अध्ययन अनुसारको रोजगारी नपाएपछि युरोपियन देश जानका लागि राहदानी बनाउन आएको बताए । उनले पढाई भएपनि पढाई अनुसार रोजगार नपाउँदा आफु जस्ता युवाहरु विदेश पलायन हुनु परेको बताए ।
सरकारले स्वरोजगार कार्यक्रम ल्याएपनि कार्यान्वयन पक्ष कमजोर हुँदा थापा र बाहोरा जस्ता युवाहरुले अवसर पाउन सकेका छैनन् । हात सीप भएका र पौरख गर्ने समय विदेशमा पसिना बगाउने युवाहरुलाई सरकारले अवसर दिन नसक्नुकै कारण नेपालबाट ठुलो मात्रामा युवाहरु अवसर खोज्न विदेशमा संघर्ष गर्न जुटेका छन् ।
गतवर्षको तुलनामा यो वर्ष बैदेशिक रोजगारमा जान राहदानी लिनेको संख्या बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राहदानी लिनेको संख्या दैनिक २२ जनाका दरले बृद्धि भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गतवर्षको तुलनामा भन्दा यो वर्ष राहदानी बनाउनेको संख्यामा निकै वृद्धि भएको हो ।
प्रशासकीय अधिकृत पौडेलका अनुसार युरोपियन देश जाने भन्दा खाडी मुलुक जानेहरु धेरै राहदानी बनाउन आउने गरेका छन् । उनले भने ‘शिक्षित र अर्ध शिक्षित भन्ने हुन्छ, तर यहाँ शिक्षित भन्दा अर्ध शिक्षित अर्थात अरबियन कन्ट्रि जानेहरु राहदानी बनाउन धेरै आउने गर्छन् ।’
प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार ०८:३९