काठमाडौँ, १४ मंसिर । त्रिभुवन विश्वविद्यालयको नीति निर्माणको तहमा मुख्य भूमिका निर्वाह गर्ने डिन पद निमित्तका भरमा सञ्चालन भइरहेको छ ।
विश्वविद्यालयमा डिन नियुक्तिमा समझदारी जुट्न नसक्दा प्रायः सबैजसो सङ्काय तथा अध्ययन संस्थानमा यतिखेर निमित्तले डिनको जिम्मेवारी पाएका छन् ।
सङ्क्रमणकालीन अवस्थामा तीन महिनाका लागि उपकुलपतिले निमित्त डिनको जिम्मेवारी दिन सक्ने भए पनि हालसमेत सो व्यवस्थाले प्रश्रय पाइरहेको खबर गोरखापत्र दैनिकमा छ ।
त्रिविको वन विज्ञान अध्ययन संस्थानमा प्रा. ड. देविराज अधिकारीलाई तीनमहिने डिनको जिम्मेवारी दिइएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत प्रा। डा. रामप्रसाद खतिवडाको तीनमहिने डिनको कार्यकाल सकिएको छ तर नयाँ निर्णय गरिएको छैन ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा प्रा. डा. श्यामशङ्कर झालाई विश्वविद्यालयले तीन महिनाको जिम्मेवारी दिएको थियो तर हाल उनको उक्त जिम्मेवारी सकिएको छ ।
मंसिर १ गतेदेखि फेरि झालाई निमित्तको जिम्मेवारी दिइएको छ ।
अध्ययन संस्थानमध्ये चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा. डा. केपी सिंह डिनको जिम्मेवारीमा छन् ।
डिनको कार्यकाल चार वर्षको हुनुपर्ने भए पनि सिंहको नियुक्तिमा कार्यकाल तोकिएको छैन । सिंह छिट्टै नै विश्वविद्यालयको सेवाबाट अवकाश पाउनुहुने भएकाले कार्यकाल नतोकिएको जानकारी विश्वविद्यालयले दिएको छ ।
अध्ययन संस्थान मात्र नभई विभिन्न सङ्काय पनि निमित्त डिनकै भरमा चलिरहेको छ । मानविकी सङ्कायमा प्रा. डा. चिन्तामणि पोखरेल चार वर्षको कार्यकाल पूरा गरी हाल तीनमहिने निमित्तको जिम्मेवारीमा रहेका छन् भने व्यवस्थापन सङ्कायमा सहप्राध्यापक नवराज अधिकारी निमित्तको जिम्मेवारीमा छन्। व्यवस्थापन सङ्कायका डिन प्रा. डा. देवराज अधिकारी केही महिनाअघि मात्र विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको जिम्मेवारीमा गएका कारण निमित्तको भरमा डिन कार्यालय चलेको हो ।
शिक्षाशास्त्र सङ्कायमा सहप्राध्यापक नेत्रप्रसाद धिताल निमित्त डिनको जिम्मेवारीमा रहेका छन् ।
विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थानमा प्रा. डा. त्रिरत्ननारायण वज्राचार्यको कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छ भने कानुन सङ्कायमा प्रा. डा. ताराप्रसाद सापकोटाको झण्डै छ महिनाअघि नियुक्ति भएको थियो ।
विश्वविद्यालयका प्राध्यापकका अनुसार व्यवस्थापन तथा शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थानमा प्रजातन्त्रवादी तथा प्रगतिशील पक्षधर प्राध्यापकमध्ये कसले जिम्मेवारी लिने भन्ने विषयमा समझदारी हुन नसक्दा सङ्क्रमणकालीन व्यवस्था अन्तर्गत विश्वविद्यालयका उपकुलपतिमा केही प्राध्यापकलाई तीनमहिने र केहीलाई निमित्तको जिम्मेवारी दिइएको हो ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष योगेन्द्रनारायण बड्बरियाले निमित्तका भरमा अध्ययन संस्थान र सङ्काय सञ्चालन गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्न आफूहरूले विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएको उल्लेख गर्दै छिट्टै समाधान गर्ने आश्वासन पदाधिकारीले दिएको बताए ।
शैक्षिक क्षेत्रमा विशेषज्ञता हासिल गरेको विश्वविद्यालयको प्राध्यापक तथा सहप्राध्यापकलाई डिनको जिम्मेवारी दिन सकिने प्रावधान त्रिविमा छ ।
त्रिविका नवनियुक्त प्रवक्ता भोलाप्रसाद ढकाल छिट्टै नै अध्ययन संस्थान तथा सङ्कायमा पूर्णकालीन डिनको नियुक्ति हुने र कार्यकारी परिषद्ले त्यसको तयारी गरिरहेको जानकारी दिए ।
प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार ०६:४८