काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेसको मुद्दा सम्बोधन गर्नको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन् । उनले संशोधन प्रस्तावमा धेरै भन्दा धेरै दलहरुको सहमति जुटाउनको लागि केही ढिलाई भएपनि प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय अध्यक्ष राणाले ४ वटा महत्वपूर्ण विषयमा संशोधन हुन गइरहेको उल्लेख गरे । उनले प्रदेशको सीमांकनमा सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानको लागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरुमा स्थान दिने गरी संशोधनको तयारी भइरहेको बताए ।
उनले आफ्नो पार्टीले हिन्दूराष्ट्रको लागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भएपनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पारे ।
उनले, ‘अहिले हामी संसदमा थोरै संख्यामा छौं, पास नहुने संशोधन हामी हाल्दैनौं, हिन्दुत्वको लागि हामी जनमतसंग्रहको लागि संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ ।’ राणाले हिन्दुराष्ट्रको पक्षमा ठूला पार्टीमा पनि व्यापक बहस भैरहेको जिकिर गरे ।
राष्ट्रिय अध्यक्ष राणाले अहिले राप्रपा सरकारमा भएकोले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकोले सरकारमा रहेको पार्टीको प्रतिनिधित्व केही फराकिलो हुने दाबी गरे ।
संविधान संशोधनमा राप्रपाको सहयोग जुटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रिय अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री दिने हल्ला चलिरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘यो विषयमा मलाई कुनै ठोस जानकारी छैन, उहाँहरुवीच के–के कुरा भयो ? मलाई थाहा छैन ।’
प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार १६:०२