काठमाडौं, १२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाइन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु बसेर नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाइन नेपालमा नभएर भारतमा भएको आरोप लगाएका हुन् । उनले अघि भने, ‘यो सरकार लेण्डुप दोर्जेको पदमा हिँड्न खोेजेको छ, सम्पूर्ण देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्छ ।’
उनले संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दापनि विदेशीको दिमागले गर्न खोजेको आरोप लगाए । उनले प्रदेशको सीमांकनको विवाद समाधानको नाममा ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कार्य कुनै हालतमा स्वीकार्य नभएको जिकिर गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकालाई चुनाव गरेर देखाउन चूनौति दिएका छन् । रावलले भने, ‘यो सरकारले चुनावको खाका कहाँ ल्यायो ? चुनावमा जाऔं, परीक्षा गरौं न ? चुनावबाट किन भाग्न खोजेको ?’
उपाध्यक्ष रावलले वर्तमान सरकारले १२५ जातजातिहरुमा फाटो लगाउने गरि संशोधन प्रस्ताव अघि सार्न खोेजेको भन्दै यस्तो सोच्नुपर्ने मुर्खतापूर्ण भएको टिप्पणी गरे ।
उपाध्यक्ष रावलले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा नेपाल र भारत सरकारले जारी गरेको संयुक्त विज्ञप्तीले पनि यो संविधान कसको इशारामा संशोधन हुँदैछ भन्ने कुरा राम्रो संकेत गर्ने स्पष्ट पारे । उनले नेपाल र नेपाली जनताको हित विपरित आउने संविधान संशोधन प्रस्तावका एमालेले सशक्त विरोध गर्ने समेत चेतावनी दिए ।
रावलले संविधानको व्यवस्था अनुसार प्रदेशको सीमांकन अहिले कुनै हालतमा हुन नसक्ने दाबी गरे । उनले भने, ‘संविधानको धारा २७४ को उपधारा ४ मा प्रष्ट व्यवस्था गरिएको छ, यो धारा राम्रोसँग पढेहुन्छ ।’
प्रकाशित मिति: १२ मंसिर २०७३, आईतवार १६:०५