रामपुर (पाल्पा), १२ मंसिर । कालीगण्डकी नदी किनारामा पाइने गिद्ध हिजोआज लोप हुँदै गएको छ ।
नदी वारिपारिका किनारामा वासस्थान बनाएर वर्षांैदेखि बस्ने प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्ध हिजोआज न्यून मात्रामा भेटिन्छन् । कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाटलगायतका विभिन्न घाटमा पाइने गिद्धको संरक्षण नहुँदा लोप हुँदै गएका हुन् ।
कालीनदीको रामघाटमा आजभन्दा १० वर्ष अगाडि ३०० भन्दा बढीको हाराहारीमा गिद्धको वासस्थान थियो । अहिले यस क्षेत्रमा १५ देखि २० को हाराहारीमा रहेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताए ।
रामपुर नगरपालिका–१३ को खैरेनी वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरे पनि यसको संरक्षण हुन नसक्दा यहाँ पाइने गिद्ध लोप हुँदै गएका छन् ।
पहिले पहिले नदी किनारामा मरेका जीवजन्तु, गाईबस्तु फ्याँक्ने गर्दा गिद्धको ठूलै बथान रहेको र हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर जथाभावी फ्याँक्न छाडेपछि हराउँदै गएको स्थानीय कमलप्रसाद अधिकारीले बताए ।
संसारमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका गिद्ध पाइए पनि त्यसमध्ये धेरै गिद्ध आहारको कमी, सिमलका रुख विनाश गर्दै जाँदा वासस्थान सङ्कट अवस्थामा रहेको रामपुरका समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए ।
नेपालमा सानो, खैरो, डङ्गुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर, लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछ ।
उत्कृष्ट छ कृषक पुरस्कृत
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर, पाल्पाले उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
सहकारीको चौथो साधारणसभाका अवसरमा यहाँका पाँचजना व्यावसायिक अगुवा कृषकलाई शनिबार पुरस्कृत गरिएको हो ।
च्याउ व्यावसायिक कृषक बलबहादुर राना, दुग्ध डेरी फार्म सञ्चालक माधवप्रसाद आचार्य, हरिनाथ ढुङ्गाना र अगुवा कृषक एकराज पङ्गेनीलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सोही अवसरमा सहकारीले यहाँका आठजना कृषकलाई पशु सुत्केरी पोषण खर्चबापतको रकम पनि वितरण गरेको व्यवस्थापक हरिप्रसाद सिग्देलले बताए । रासस