बाँके, ११ मंसिर । उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले बाँके राप्ती पारिका वासिन्दाको घर आँगन उज्यालो पार्ने प्रतिवद्धता जनाएका छन् ।
फाइल फोटो
राप्ती पारिका स्थानीय जनता र पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री शर्माले यस्तो प्रतिवद्धता जनाएका हुन् । हालसम्म विद्युतविहीन अवस्थामा रहेका राप्ती पारिका ७ वटा गाविसका वासिन्दाले ५ महिनाभित्र बिजुलीको स्वाद चाख्न पाउने उनले बताए ।
ती गाविसहरुमा विद्युत प्रसारण लाइन विस्तार गर्ने काम १५ वर्षअघि शुरु गरिएको भएता पनि हालसम्म सम्पन्न हुन सकेको छैन । राप्ती पारिका बिनौना, बैजापुर, गंगापुर, मटैया, नरैनापुर लक्ष्मणपुर, कालाफाँटा र फत्तेपुर गाविसको आधा भाग हालसम्म बिद्युतविहीन रहेको छ । यस्तै कटकुइया गाविसमा २०५४ सालमै पोल गाडिएको भएपनि अहिलेसम्म बिजुली पुगेको छैन ।
“पन्ध्र वर्षदेखि कछुवा गतिमा घिस्रिरहेको प्रसारण लाइनको कामलाई खरायो गतिमा दौडाएर ५ महिनाभित्र तपाईको बस्ती झलमल्ल पार्छु” मन्त्री शर्माले भने “यस कार्यमा तपाईहरुको पनि सक्रिय सहयोग र सहभागिता चाहिन्छ ।”
यो काम सम्पन्न गर्न विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई आवश्यक निर्देशन दिइसकिएको उनले जानकारी दिए । विद्युत प्राधिकरणका कर्मचारीहरुले काममा ढिला सुस्ती गरे तुरुन्त आफुलाई खबर गर्न पनि मन्त्री शर्माले स्थानीयलाई आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको उद्घाटन गर्न शुक्रवार बाँके पुगेका मन्त्री शर्माले विद्युत प्राधिकरण मध्यपश्चिम क्षेत्रका कर्मचारी, स्थानीय पार्टी कार्यकर्ता र जनतासँग अन्तरक्रिया समेत गरेका थिए ।
प्रकाशित मिति: ११ मंसिर २०७३, शनिबार १६:००