म्याग्दी, १० मङ्सिर । म्याग्दीमा पनि शुक्रबारदेखि लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
लैङ्गीक विभेद् न्यूनीकरणका लागि सचेतना अभिवृद्धिका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरेर यो अभियान सञ्चालन हुँदै आएको छ ।
म्याग्दीको बेनीसहित जिल्लाका विभिन्न ठाउँमा लैङ्गीक हिंसा न्यूनीकरणका लागि अन्तक्र्रिया, र्याली, छलफललगायतका कार्यक्रम गरिने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
अभियानको पहिलो दिन बेनीमा सचेतनामूलक र्याली निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको र्याली बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्नुहँुदै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले लैङ्गीक हिंसा न्यूनीकरणका लागि शिक्षा र चेतनाको विकाससँगै आयआर्जन वृद्धी गर्नुपर्नेमा जोड दिए ।
बाल विवाह, गरिबी र चेतनाको कमीले म्याग्दीमा लैङ्गीक विभेद्का घटना भएको बताउँदै प्रजिअ आचार्यले महिला हिंसाको दर घटाउन सबैलाई सचेत र जिम्मेवार बन्न अनुरोध गरे ।
अन्तरपार्टी महिला सञ्जालकी संयोजक पशुपति शाहीले लैङ्गीक हिंसा न्यूनीकरणका लागि परिवार र समाजमा महिला पुरुषप्रति समान व्यवहार गर्ने वातावरण बनाउनुपर्ने बताइन् ।
महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण निरीक्षक भुवनबहादुर मल्लले सञ्चालन गरेकाे कोणसभाको महिला विकास अधिकृत निर्मला शर्माले समापन गरेकी थिइन् ।
र्यालीमा सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका नेता, महिला राजनीतिकर्मी, गैरसरकारी र सरकारी संस्थाका प्रतिनिधि प्लेकार्ड र ब्यानरसहित सहभागी भएका थिए । रासस