जाजरकोट, १० मंसिर । उचित प्रचार र प्रसार नहुदा जाजरकोटको महत्वपूर्ण पर्यटकीय संभावना बोकेको बारेकोट क्षेत्रका प्राकृतिक सम्पदाहरु ओझेलमा परेका छन् । प्राकृतिक, जैविक, धार्मिक तथा सांस्कृतिक रुपले महत्व बोकेका विभिन्न सम्पदाहरुमा सरोकारवाला निकायले वेवास्ता गर्दा प्रचार प्रसार हुन सकेको छैन ।
बारेकोट क्षेत्रका कुशेमुसे, च्याखुरे, देउराली, कुकुर दह, रमका हिमाल शंख दह जस्ता प्राकृतिक सुन्दरताले भरिएका सम्पदाको प्रचार प्रसार तथा प्रवद्र्धनमा कसैको नजर नपुग्नु दुःखद रहेको रामीडाँडाका खगेन्द्र बोहराले बताए ।
त्यस्तै सांस्कृतिक र प्राकृतिक महत्वका रामीडाँडा, सिर्पाचौर, धार्मिक महत्वका ठाकुरजी, राँगा बाचिलोको प्रचार प्रसार हुन सकेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकको ओईरो लाग्न सक्ने बोहराको दाबी छ ।
स्थानीयको जीवन शैलीको प्रवद्र्धन तथा ठाकुरजी पदमार्गको निर्माण गरी पर्यटक भित्र्याउन सके पिछडिएको बारेकोट भेक आर्थिक रुपमा समुन्नत बन्ने नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति महेन्द्र शाहले बताए ।
पर्यटन व्यवसायका लागि आवश्यक पूर्वाधार तथा सुविधाहरु विस्तार गरी जिल्लाको पर्यटनलाई प्रवद्र्धन गर्न सबै एक भएर लाग्नुपर्ने शाहको सुझाव छ । यहाँको पर्यटन प्रर्बद्धन भएमा स्थानीयको जीवनस्तरमा सुधार आई गरिबी निवारणमा समेत टेवा पुग्ने स्थानीयबासीको भनाई छ ।
प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार १०:३५