जाजरकोट, ८ मंसिर । जाजरकोटको पजारुमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । दिदीसँग गोठालो गएका बेला स्थानीय दाइ नाता पर्ने पजारु–५ का १३ वर्षीय प्रकाश अधिकारीले बलात्कार गरेका हुन् ।
फाइल फोटो
समाजबाट तिरष्कृत हुने र उल्टै अपहेलित हुने डरले बालिका बलात्कृत भएको दुई महिना पुग्न लाग्दा पनि घटना बाहिर आउन नसकेको हो । बलात्कृत बालिकाको यौनीमा इन्फेक्सन भएपछि सोधखोज गर्दा बालिका बलात्कृत भएको तथ्य खुलेको हो । मलाई प्रकाश दाइले जबरजस्ती यौनसम्पर्क गरेपछि यस्तो भएको भनेर छोरीले नै भनेपछि घटनाबारे आफुले थाहा पाएको बाबुले बताए ।
प्रहरीका अनुसार प्रकाशले दिदी बाख्रा लिन जंगलतिर गएको मौका छोपी गत असोज १३ गते बालिकालाई नजिकैको खोलामा लगेर बलात्कार गरेका थिए । गाउँमै घरेलु उपचार गर्दा पनि निको नभएपछि बालिकालाई उपचारको लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।
अहिले जिल्ला अस्पतालमा बालिकाको उपचार भइरहेको छ । अस्पतालका डा. भुपेन्द्र प्रकाश मल्लले बालिकाको यौनीबाट पानी बगिरहेको, पुरानो घाउ देखिएकाले आफुले शंका लागेर सोधखोज गर्दा बलात्कार भएको पत्ता लागेको जानकारी दिए ।
बालिकाका बाबुले प्रहरीमा प्रकाशको नाममा किटानी जाहेरी दिएको प्रहरीले बताएको छ । घटनाबारे थाहा पाउने वित्तिकै प्रहरीले निगरानी र अनुसन्धान बढाएको प्रहरी निरीक्षक सुवास भट्टले बताए ।
बलात्कारको आरोप लागेका प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बडाबनलाई निर्देशन दिइसकिएको प्रहरी निरीक्षक भट्टले बताए । बालबालिकालाई जेलमा राख्न नमिल्ने कानुनी प्रावधान रहेको छ । पींडक बालक अदालतबाट दोषी ठहरिए सुधार गृहमा राखेर आवश्यक परामर्श दिने व्यवस्था कानुनमा उल्लेख भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार ०७:५०