काठमाडौं, ७ मंसिर । संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूलाई बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान नौ बजे प्रधानमन्त्री दाहालसहित कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक बस्नेछ । बैठकमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट तयार पारेको भनिएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा छलफलका लागि पेश गर्ने छन् ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीले संविधान संशोधनसम्बन्धी विधेयकका विषयमा छलफल गर्न मधेसी मोर्चाका नेताहरूलाई बोलाएको जानकारी दिए ।
‘सरकारले संविधान संशोधनका विषयमा केही मस्यौदा तयार पारेको भन्ने थाहा पाएका छौँ’, उनले भने, ‘सोही विषयमा छलफल हुनेछ । अहिलेसम्म मधेसी मोर्चाभित्र त्यस विषयमा कुराकानी भएको छैन । बुधबारको बैठकमा हाम्रो तर्फबाट कुरा राख्ने छौँ ।’
यसअघि प्रधानमन्त्रीले सोमबार राति बालुवाटारमा राखेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक निष्कर्ष बिहीन सक्किएको थियो ।
एमालेले सरकारले तयार पारेको संविधान संशोधन प्रस्ताव राष्ट्र र राष्ट्रियता विरुद्ध रहेको भन्दै अपात्ति जनाए पछि प्रधानमन्त्री र एमालेका नेताहरूवीच भनाभन भइ वार्ता विथोलिएको थियो । बैठकमा एमालेले असहयोग गर्ने चेतावनी दिएका विषयमा पनि परामर्श हुनेछ ।
प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलवार १७:५४